सिड्नी– एसेज सिरिज अन्तर्गत पाँचौ टेस्टमा भ्रमणकारी टिम इंग्ल्यान्ड हार नजिक पुगेको छ। चौथो दिनको खेल सकिदा इंग्ल्यान्डले दोस्रो इनिङमा ४ विकेटको क्षतिमा ९३ रन जोडेको छ। खेलमा इंग्ल्यान्ड अझै २ सय १० रनले पछि छ।
इंग्ल्यान्डका अलास्टयर कुकले १० रन जोड्दा मार्क स्टोनम्यान शून्य रनमा आउट भए। जेस्स भिन्सले १८ र डविड मालन ५ रनमा पेभेलियन फर्के। जोए रुट ४२ र जोनी ब्रेस्ट्र १७ रन बनाएर खेलिरहेका छन्।
लगातार तीन टेस्टमा जित निकालेको अस्ट्रेलियाले सिरिज यसअघि नै कब्जा गरिसकेको छ। चौथो खेलमा बराबरीमा सकिएकाले अस्ट्रेलियालाई सिरिज ४–० ले जित्ने अवसर छ।
यसअघि पहिलो इनिङमा अस्ट्रेलियाले ३ सय ३ रनको अग्रता लियो। इंग्ल्यान्ड ३ सय ४६ रनमा अलआउट हुँदा अस्ट्रेलियाले ७ विकेटको क्षतिमा ६ सय ४९ रन जोडेर इनिङ समाप्तीको घोषणा गरेको थियो। अस्ट्रेलियाका लागि तीन ब्याट्सम्यानले शतक प्रहार गरे। तेस्रो दिन उस्मान खवाजाले शतक प्रहार गरेका थिए। उनले १ सय ७१ रन जोडे। चौथौ दिन मिचेल र साउन मार्स दाजुभाइले शतक प्रहार गरे। साउनले १ सय ५६ रन जोडे। मिचेलले १ सय १ रनको योगदान दिए। बलिङतर्फ इंग्ल्यान्डका मोइन अलीले २ विकेट लिए।
इंग्ल्यान्डका लागि जोए रुटले ८३ र डविड मालनले ६२ रनको योगदान दिएका थिए। बलिङतर्फ पाट कमिङग्सले ४ विकेट लिँदा मिचेल मार्स र जोस हजलउडले २–२ विकेट हात पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।