हङकङलाई ६ विकेटले पराजित गर्दै नेपाल १९ वर्षमुनिको एसिया कप क्रिकेटमा छनोट

नेपाल लाइभ | २०७६ असार २४ मंगलबार | Tuesday, July 09, 2019 १२:५४:०० मा प्रकाशित

काठमाडौं- नेपाल १९ वर्षमुनिको एसिया कप क्रिकेटमा छनोट भएको छ।

मलेसियामा जारी एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा हङकङलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट भएको हो। किनरारा ओभल मैदानमा भएको खेलमा नेपाल ६ विकेटले विजयी भएको हो।

९६ रनको लक्ष नेपालले १६.१ ओभरमै भेट्टाएको हो। नेपालका प्रारम्भिक ब्याट्सम्यानद्वय पवन सर्राफ र रित गुरुङले पहिलो विकेटका लागि ५२ रनको साझेदारी गर्दै नेपाललाई सटिक सुरुवात दिलाएका थिए। सर्राफले ३९ रन बनाउँदा गुरुङले १३ रनको पारी खेले। सर्राफले ३६ बलमा ५ चौका र १ छक्का प्रहार गरेका थिए।

रोहित कुमार पौडेलले १२ तथा भिम सार्कीले अविजित ८ रन बनाए। मलेसियाका रौनक कपुरले सर्वाधिक २ विकेट लिए।

यसअघि टस जितेर बलिङ गरेको नेपालका सागर ढकालले ५ विकेट लिएपछि हङकङको पारी ९५ रनमा समेटिएको हो।

निर्धारित ५० ओभरको खेलमा हङकङ ४३.१ ओभर मात्रै मैदानमा टिक्न सक्यो। नेपाली बलरहरुले सुरुवातदेखि नै हङकङलाई दबाबमा राखेको थिए। नेपालका लागि सागर ढकाल एक्लैले हङकङका ५ ब्याट्सम्यानलाई पेवेलियन फर्काएका थिए। रनको खाता नखोल्दै २ विकेट गुमाएको हङकङलाई कुनै पनि ब्याट्सम्यानले उच्च योगफलको दिशातर्फ डोर्‍याउन सकेनन्।

हङकङका नसरुल्ला राना र राहुल शर्मा सुरुवातमै शून्य रनमा पेवेलियन फर्किए। सागरको बलमा नसरुल्ला स्लिपमा क्याच आउट हुँदा शर्मालाई भने हरि चौहानले स्टम्पिङ गरेका थिए। कलहान मार्क चल्लुले १९ तथा कप्तान अदित गोरवाराले २४ रन बनाएर हङकङको पारी समाल्न खोजेका थिए।

तर, कलहान सागर र अदित तिलक राज बुढाथोकीको बलमा आउट भए। आरुश भगत शून्य रनमा सागरको बलमा बोल्ड हुँदा मेहरनले ४ रन मात्र जोड्न सके। रौनक कपुर र मोहम्मद हसनले क्रमशः १२ र ९ रनको पारी खेले।

हङकङको माथिल्लो क्रमका ५ ब्याट्सम्यान ढकालको बलमा सिकार भएका थिए। उनले १० ओभरमा ५ मेडन राख्दै १८ रन मात्र दिए। यसबाहेक कमलसिंह ऐरीले ३ तथा तिलक राज बुढाथोकी र कुशल मल्लले १ विकेट लिए।

१९ वर्षमुनिको एसिया कप क्रिकेट यसैवर्ष श्रीलंकामा हुनेछ।