एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट : नेपालका सागर चम्किँदा हङकङ ९५ रनमा समेटियो

नेपाल लाइभ | २०७६ असार २४ मंगलबार | Tuesday, July 09, 2019 १०:४७:०० मा प्रकाशित

काठमाडौं- सागर ढकालले ५ विकेट लिएपछि हङकङको पारी ९५ रनमा समेटिएको छ।

निर्धारित ५० ओभरको खेलमा हङकङ ४३.१ ओभर मात्रै मैदानमा टिक्न सक्यो। एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा नेपालले सुरुवातदेखि नै हङकङलाई दबाबमा राखेको थियो।

टस जितेर पहिले बलिङ रोजेको नेपालका लागि सागर ढकाल एक्लैले हङकङका ५ ब्याट्सम्यानलाई पेवेलियन फर्काएका थिए। रनको खाता नखोल्दै २ विकेट गुमाएको हङकङलाई कुनै पनि ब्याट्सम्यानले उच्च योगफलको दिशातर्फ डोर्‍याउन सकेनन्।

हङकङका नसरुल्ला राना र राहुल शर्मा सुरुवातमै शून्य रनमा पेवेलियन फर्किए। सागरको बलमा नसरुल्ला स्लिपमा क्याच आउट हुँदा शर्मालाई भने हरि चौहानले स्टम्पिङ गरेका थिए। कलहान मार्क चल्लुले १९ तथा कप्तान अदित गोरवाराले २४ रन बनाएर हङकङको पारी समाल्न खोजेका थिए।

तर, कलहान सागर र अदित तिलक राज बुढाथोकीको बलमा आउट भए। आरुश भगत शून्य रनमा सागरको बलमा बोल्ड हुँदा मेहरनले ४ रन मात्र जोड्न सके। रौनक कपुर र मोहम्मद हसनले क्रमशः १२ र ९ रनको पारी खेले।

हङकङको माथिल्लो क्रममा ५ ब्याट्सम्यान ढकालको बलमा सिकार भएका थिए। उनले १० ओभरमा ५ मेडन राख्दै १८ रन मात्र दिए। यसबाहेक कमलसिंह ऐरीले ३ तथा तिलक राज बुढाथोकी र कुशल मल्लले १ विकेट लिए।

मलेसियाको किनरारा ओभर मैदानमा नेपाल ९६ रनको लक्षका साथ केहीबेरमा मैदान उत्रिनेछ।

नेपालले सोमबार भएको खेलमा मलेसियालाई ७ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको थियो। यसैगरी सोमबार भएको दोस्रो सेमिफाइनलमा सिंगापुरलाई डिएल मेथडका आधारमा ५१ रनले पराजित गर्दै हङकङले नेपालसँगको भेट पक्का गरेको थियो।

उपाधि जित्ने टोली यू-१९ एसिया कपका लागि छनोट हुनेछ।