नयाँ दिल्ली (एजेन्सी)- बलिउड र साउथ फिल्ममा चर्चा कमाइसकेका अभिनेता आर माधवनको वेब सिरिज 'ब्रिद' को टिजर सार्वजनिक भएको छ।
'ब्रिद'मा पहिलो पटक आर माधवन ओटीटी स्पेसमा दर्शकसामु प्रस्तुत हुनेछन्। डिजिटल शृंखलाको पहिलो झलक सार्वजनिक भएसँगै यसले दर्शकलाई रोमाञ्चक पार्ने बताइएको छ। यो वेब सिरिज जनवरी २६ मा सार्वजनिक हुनेछ।
निकै रोचक रहेको बताइएको यो वेब सिरिजमा आर माधवनका साथै अमित साध र सपना पब्बीको मुख्य भूमिका छ।
'ब्रिद' मा मनोवैज्ञानिक विषयको कथा पस्किएको छ, जसमा एक साधारण व्यक्तिको जीवन असाधारण परिस्थितिहरुले भरिएको छ। वेब सिरिजमा आर माधवन डैनी मैस्करेनहस नामक चरित्रमा मिलनसार व्यक्तित्वका रुपमा देखाइएको छ। डैनी नैतिकता र आफ्नो मृत बच्चाको जीवन बचाउने परिस्थितिका बीच कठिन चुनौती सामना गर्छन्।
'ब्रिद' को टिजरमा एक पिताले पुत्रको जन्मदिनको उत्सव मनाइरहेको देखाइएको छ, जसमा उत्सवकै बीचमा बच्चाको स्वास्थ्य बिग्रिएर मृत्यु हुन्छ। यसैको साथ आर माधवनले निर्वाह गरेको पिताको भावनात्मक संकटबाट जकडिएको यात्राको सुरुवात हुन्छ। त्यसै क्रममा उनलाई प्रहरी अधिकारी अमित साधसँग भेट गराउँछ।
अबुन्दान्टिया एन्टरटेनमेन्टले निर्माण गरेको 'ब्रिद'को निर्देशन मयंक शर्माले गरेका हुन्। अमेजनको प्रस्तुतिमा बनेको यो वेब सिरिज हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।