वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू ‘एकदम स्थिर क्षमतावान् स्वभाव’को मानिस भएको बताएका छन्।
एउटा विवादास्पद पुस्तकका लेखक ह्वाइट हाउसका कर्मचारीले ट्रम्पलाई ‘केटाकेटी जस्तो’ भएको बताएपछि यसबारे प्रतिक्रिया जनाउँदै राष्ट्रपतिले शनिबार ट्विट गर्दै आफ्नो व्यक्तित्वको परिचय दिएका हुन्।
माइकल वुल्फले लिखित ‘फायर एन्ड फ्युरीः इन्साइड दि ट्रम्प ह्वाइट हाउस’ शीर्षकको पुस्तकमा ट्रम्पलाई ‘केटाकेटी जस्तो’ भनी चित्रण गरेको भनी विभिन्न सञ्चारमाध्यमले लेखेका छन्। आफ्नो पुस्तक करिब २ सय वटा अन्तर्वार्तामा आधारित रहेको लेखकको दाबी छ।
राष्ट्रपति ट्रम्पले ट्विटरमार्फत थप उल्लेख गरेका छन्- 'मेरो जीवनभर मेरा सबैभन्दा महत्वपूर्ण दुई सम्पत्ति भनेका नै ‘बौद्धिकता’ र ‘क्षमता’ हुन्।'
आफूमाथि हिलारी क्लिन्टनले पनि पटकपटक वुल्फको जस्तै विशेषणले आरोपित गर्ने गरेको तर अहिले ती सबै अन्त्य भइसकेका ट्रम्पको दाबी छ।
'म एक सफल व्यवसायी, वरिष्ठ टेलिभिजन स्टार हुँदै एकैपटकमा अमेरिकी राष्ट्रपतिमा निर्वाचित बन्न सफल व्यक्ति हुँ', ट्रम्प लेख्छन्, 'मेरो विचारमा यसले मलाई बौद्धिक मात्र नभई क्षमतावान् व्यक्ति भएको पुष्टि गर्छ।'
वासिङ्टनमा छोटो समयमै ठूलो संख्यामा बिक्री भएको पुस्तकबारे ट्रम्पले भनेका छन्, 'वुल्फको पुस्तक मैले दिक्कलाग्दो र झुटो भएको पाएँ।' (रासस/सिन्ह्वा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।