केप टाउन– दक्षिण अफ्रिका विरुद्धको पहिलो टेस्टको पहिलो इनिङमा भ्रमणकारी टिम भारत ७७ रनले पछि परेको छ।
केप टाउनमा जारी टेस्टमा पहिलो इनिङमा २ सय ९ रनमा अलआउट भयो। यसअघि घरेलु टिम दक्षिण अफ्रिकाले पहिलो इनिङमा २ सय ८६ रन जोडेको हो।
दोस्रो दिन भारतका मध्यक्रमका ब्याट्सम्यान हार्दिक पाण्ड्या शतक बनाउन चुके। पाण्ड्या ९३ रनमा आउट भए। नवौं विकेटको रुपमा आउट हुनुअघि उनले ९५ बल खेलेर १४ चौका र १ छक्का प्रहार गरे। भुवनेश्वर कुमारले २५ रन जोड्दा चेतेश्वर पुजाराले २६ र शिखर धवनले १६ रन बटुले। ओपनर मुरली विजय १ रन, कप्तान विराट कोहली ५ रन, रोहित शर्मा ११ रन र रविचन्द्र आस्विन १२ रनमै आउट भए।
बलिङतर्फ दक्षिण अफ्रिकाका भेर्नोन फिलान्डर र कागिसो राबाडाले ३–३ विकेट लिए। मोर्ने मोर्केल र डेल स्टेनले २–२ विकेट हात पारे।
टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि एबी डिभिलियर्सले सबैभन्दा बढी ६५ रनको योगदान गरेका थिए। जसप्रित बुमराहबाट बोल्ड हुनुअघि उनले ८४ बल खेलेर ११ चौका प्रहार गरे। कप्तान फाप डु फ्लेसिसले ६२ रनको योगदान गरे। क्वान्टन डेकले ४३ रन बनाए।
त्यसअघि खराब सुरुवात गरेको दक्षिण अफ्रिकाले सुरुवाती ३ विकेट ५ ओभरभित्र गुमाएको थियो। १२ रन भित्र गुमाएका तीनै विकेट भुवनेश्वर कुमारले लिए। डिन एल्गर शून्य, एइडेन मार्क्रम ५ र हसिम अम्ला ३ रनमा आउट भएका थिए।
कुमारले क्वान्टन डेक ककलाई पनि सिकार बनाएपछि ४ विकेट लिन सफल भए। भारतका लागि रविचन्द्रन आस्विन २ विकेट लिँदा मोहमद सामी, जसप्रित बुमराह र हार्दिक पाण्ड्याले १–१ विकेट हात पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।