काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएर परीक्षाको परिणाम फेरबदलमा संलग्न त्रिभुवन विश्वविद्यालयको बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयका गोप्य शाखाका कर्मचारी र घुस दिने ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले घुस खाएर परीक्षाको नतिजा फेर्ने परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखाका कर्मचारी रामबहादुर कर्माचार्यसहित ३ जनाविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
अख्तियारले घुस खाने त्रिविका कर्मचारी कर्माचार्य, भक्तपुर क्याम्पसका शिक्षण सहायक सुरेन्द्रप्रसाद कोइराला र बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगरमा कार्यरत केदार भट्टराईलाई भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारले कर्माचार्यलाई ४ लाख ५० हजार , कोइरालालाई एक लाख ५० हजार र भट्टराईलाई ३ लाख रुपैयाँ विगो र कैद सजाय माग गरेको छ।
मनविकीतर्फ स्नातकोत्तर (एमए) गोप्य शाखाका अधिकृत कर्मचार्यलाई १ लाख ५० हजार घुस दिएर भक्तपुर बहुमुखी क्याम्पसका शिक्षण सहायक सुरेन्द्रप्रसाद कोइरालाले एमए इकोनोमीमा गोल्डमेडल लिएको रहस्य सार्वजनिक भएको थियो। उक्त खुलासापछि अख्तियारले यो प्रकरणमा थप अनुसन्धान थालेको थियो। कोइरालाले डेढ लाख घुस दिएपछि कर्मचार्यले उनको नम्बर बढाइदिएका थिए।
त्यसपछि प्रथम श्रेणीमा उत्तीर्ण कोइरालाले सन् २०१९ को दीक्षान्त हुँदा प्रथम श्रेणीमा प्रथमको हकदार बनेका थिए। अख्तियारको अनुसन्धानले कोइरालाले कर्माचार्यलाई घुस दिएर एमए ग्रामीण विकासमा प्रथम श्रेणी हासिल गरेको खुलेको थियो। एमए समाजशास्त्रमा पनि परीक्षामै उपस्थित नभई कोइराला उत्तीर्ण भएको पाइएको थियो।
अख्तियारको अनुसन्धानमा परीक्षाको परिणाम फेरबदल गर्न कर्माचार्यसँगको मिलेमतोमा कोइरालाले एमएका अर्थशास्त्र, ग्रामीण विकास र समाज शास्त्रका १५ वटा पेपरमा ३ देखि ५० नम्बरसम्म थपेको पाइएको अख्तियारको आरोप पत्रमा उल्लेख छ। ३ वटै विषयमा कोइरालाले घुस दिएर कूल २ सय २४ अंक थपेको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ।
त्यसैगरी अख्तियारले बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वरमा कायममुकायम प्रशासनिक अधिकृत छैटौं तहमा कार्यरत केदार भट्टराईलाई पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ।
कर्मचार्यले भट्टराईका लागि एमए अर्थशास्त्रकै ५ वटा पेपरमा १० र १० नम्बरका दरले ५० अंक थप गर्न कोइरालामार्फत ३ लाख रुपैयाँ घुस लिएको पनि अख्तियारको आरोपपत्रमा उल्लेख छ। अख्तियारले कर्माचार्यविरुद्ध 'भ्रष्टाचार निवारण ऐन, २०५९' अनुसार सजाय हुनुपर्ने माग गर्दै मुद्दा दायर गरेको छ।
अख्तियारले कर्माचायसँग ४ लाख ५० हजार रुपैयाँ विगो र हदैसम्मको कैद सजाय हुनुपर्ने माग गरेको छ। परीक्षाको परिणाम फेरबदल गर्न घुस लिएकाले रकम बराबर विगो र सोही बराबर जरिवाना हुनुपर्ने अख्तियारको आरोपपत्रमा उल्लेख छ।
अख्तियारले उनले आफ्नै नतिजा फेरबदल गर्न दिएको ३ लाख घुस बराबरको विगो कायम गर्दै मुद्दा दायर गरेको हो। अख्तियारले कोइराला र भट्टराई दुवैलाई पनि भ्रष्टाचार निवारण ऐनअनुसार कैद सजाय गर्न माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।