सिओल- उत्तर कोरियासँग गर्ने भनिएको उच्चस्तरीय वार्ताका लागि दक्षिण कोरियाले आफ्नो तर्फका वार्ता टोलीका सदस्यको नाम पठाएको छ।
पाँच सदस्यीय वार्ता टोलीको नाम हालै स्थापित टेलिफोन हटलाइन मार्फत शनिबार पठाइएको दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयले जनाएको छ। दक्षिण कोरियाका राष्ट्रिय एकीकरण मन्त्री चो म्योङ गियोनको नेतृत्वमा वार्ता टोली बनाइएको हो।
अब दक्षिणले उत्तर कोरियाका तर्फबाट पनि वार्ता टोलीको नाम पर्खेको छ। उत्तरका तर्फबाट वार्तामा सहभागी हुने सदस्यको नाम सम्भवत: आइतबार प्राप्त हुने सिओलले जनाएको छ।
आगामी हप्ता यी दुई देशबीच उच्चस्तरीय वार्ता हुने भएको छ।
दुई देशबीच हटलाइन सेवा करिब दुई वर्षपछि पहिलो पटक गत बुधबार मात्र पुनर्स्थापना गरिएको हो। जसका कारण यी दुई देशबीचमा आगामी दिनमा वार्ता र सौहार्दताका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ।
अंग्रेजी नयाँ वर्षको अवसरमा जनवरी १ मा उत्तर कोरियाली नेता किम जोङ उनले दिएको सन्देशपछि दक्षिण कोरियाले उच्चस्तरीय द्विपक्षीय वार्ताले प्रस्ताव राख्दा उत्तर कोरिया सहभागी हुने संकेत दिएपछि दुई देशबीचको सम्बन्धमा केही सुधार आएको महसुस भएको बताइएको छ। (रासस/सिन्ह्वा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।