धनगढी– सशस्त्र प्रहरीको एपिएफ सुदुरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। धनगढी रंगशालामा आज भएको खेलमा पोखराको सहारा क्लवलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले पराजित गर्दै एपिएफ अन्तिम आठमा पुगेको हो।
पहिलो हाफमा पाएको पेनाल्टी र पाएका सुन्दर मौका खेर फाल्दा सहारा पहिलो खेलबाटै बाहिरियो। २१ मिनेटमा सहाराले पाएको पेनाल्टी खेर फालेको थियो। सहाराका विनोद गुरुङले गरेको पेनाल्टीले गोलपोस्टको दिशा लिन सकेन।
निर्धारित समयमा गोल नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुग्यो। पेनाल्टी सुटआउटमा सहाराका लक्ष्मण जिसीको प्रहारलाई एपिएफका गोलरक्षक राजु नगरकोटीले विफल पारे। नगरकोटी खेल म्यान अफ द म्याच हुँदै १० हजार जित्न सफल भए।
पेनाल्टी सुउआउटमा एपिएफएका लागि गोलरक्षक नगरकोटी सहित अन्जन विष्ट, सुदीप सिल्पकार, आदित्य चौधरी र रञ्जन विष्टले गोल गरेका थिए। सहाराका लागि लक्ष्मण जिसीको प्रहार गोल हुन नसक्दा सुसन गुरुङ, विजय श्रेष्ठ, मानवहादुर तामाङ र फुर्वा लामाको प्रहार गोलमा परिणत भएको थियो ।
प्रतियोगिता अन्तर्गत आइतबारसिएमजी संकटा र धरान फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।