बार्सिलोना– ब्राजिलियन मिडफिल्डर फिलिप काउटिन्हो स्पेनिस महारथी क्लब बार्सिलोनामा जाने पक्का भएको दाबी गरिएको छ। स्पेनिस मिडियाहरुले इंग्लिस क्लब लिभरपुलबाट काउटिन्हो १ सय ४४ मिलियन डलर (९ अर्ब १२ करोड रुपैयाँ) मा बार्सिलोना जान लागेको समाचार प्रकासित गरेका समाचार एजेन्सी एएफपीले जनाएको छ।
बार्सिलोनाको स्पोट्स पत्रिकाले बार्सिलोनाले काउटिन्होसँग पाँच वर्षको सम्झौता गर्न लागेको बताएको छ। 'बार्सिलोनाले लिभरपुलसँग अन्तिम सम्झौता रकमको टुंगो लगाएको छ,' पत्रिकाले लेखेको छ।
स्पेनकै अर्को पत्रिका मुन्दो डिपोर्टिभोले पनि बार्सिलोनाले काउटिन्होलाई भित्र्याउन लिभरपुलसँग सहमति भएको लेखेको छ।
२५ वर्षीया काउटिन्हो बार्सिलोनामा आबद्ध हुँदा लिभरपुललाई क्षति पुग्ने पत्रिकाले विश्लेषण गरेको छ। किनकी काउटिन्होले पछिल्ला ७ खेलमा ६ गोल गरेका थिए।
सिजनको सुरुवातमा नेइमार बार्सिलोना छाड्दै फेञ्च क्लब पिएसजीमा २ सय २२ मिलियन युरोमा आवद्ध भएका थिए। नेइमार गएपछि उनको स्थानमा बार्सिलोनाले प्लेमेकर काउटिन्होलाई भित्र्याउन चासो देखाएको थियो।
उमेरका कारण पनि बार्सिलोनाले काउटिन्होप्रति बढी चासो देखाएको हो। क्लबका फरवार्ड लिओनल मेसी र लुइस सुआरेज ३० पुगेका छन्। मिडफिल्डर आन्द्रेस इनिष्टा ३३ वर्ष पुगेसकेका छन्। क्लबमा पाखा खेलाडी बढेपछि बार्सिलोनाले युवा खेलाडीमा चासो देखाएको हो।
यता फ्रान्सको डेली लेक्युप पत्रिकाले काउन्टिन्होको स्थानमा लेस्टर सिटीका रिहाज महारेज ल्याइउन लिभरपुलले पक्रिया अघि बढाएको दाबी गरेको छ।
सन् २००८ देखि २०१३ सम्म इटालियन क्लब इन्टर मिलानमा खेलेका काउन्टिन्हो सन् २०१३ मा लिभरपुल आएका थिए। लिभरपुलमा उनले १ सय ५२ खेल खेल्दै ४१ गोल गरे। ब्राजिलको राष्ट्रिय टिममा सन् २०१० मा डेब्यु गरेका उनले ३१ क्याप जित्दै ८ अन्तर्राष्ट्रिय गोल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।