काठमाडौं- ब्राजिलले १२ वर्षपछि कोपा अमेरिकाको उपाधि हात पारेको छ। घरेलु मैदानमा पेरुलाई ३–१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले नवौं पटक कोपा अमेरिकाको उपाधि जितेको हो।
सन् २०१६ को ओलम्पिकमा पुरष फुटबलतर्फ स्वर्ण पदक जितेपछि ब्राजिलको यो नै पहिलो अन्तर्राष्ट्रिय उपाधि हो।
ब्राजिलका लागि खेलको १५ मिनेटमा सोसा सोअर्सले सुरुवाती अग्रता दिलाए। पहिलो हाफको खेल सकिन एक मिनेट बाँकी रहँदा पेरुले बराबरी गोल फर्कायो। ब्राजिलका गाब्रियल जिससले फउल गरेपछि प्राप्त पेनाल्टीमा पेरुका पौलो गुएररेरोले गोल गर्दै पेरुको आशा पर्काए।

पौलोको गोलको खुसी पेरुले ४ मिनेटसम्म मात्र मनाउन पायो। ब्राजिललका जिससले नै पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै ब्राजिललका लागि दोस्रो गोल गरे।
पहिलो हाफमा गोल गरेका जिससका लागि दोस्रो हाफ भने दुःखदायी रह्यो। ७० मिनेटमा दोस्रो पहेंलो कार्ड पाउँदै उनी मैदान छोड्न बाध्य भए।

१० खेलाडीमा सीमित भएको ब्राजिललाई दबाबमा राख्नसक्ने अवस्था रहे पनि पेरुले गोल गर्न सकेन। बरु ब्राजिलले खेलको अन्तिम मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै जितको अन्तर बढायो। ब्राजिलका लागि रिचार्लिसनले तेस्रो गोल गरे।
५४ प्रतिशत बल आफ्नो पक्षमा राखेको ब्राजिलले जित हात पार्दै घरेलु दर्शकलाई खुसी तुल्याएको थियो। पेरुको गोलपोष्टमा प्रहार गरिएका १२ सटमध्ये ब्राजिलका ३ प्रहारले जाली चुमेका थिए। पेरुले ७ सटमा २ सट पोष्ट केन्द्रित गरे पनि एक मात्र प्रहारले गोलको दिशा लिएको थियो।
.jpg)
नोकझोक पूर्ण रहेको खेलमा कूल ४६ फउल भएका थिए।
योसँगै ब्राजिल सन् २००७ पछि कोपा अमेरिकाको च्याम्पियन बनेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।