काठमाडौं- नेपाली फिल्म ‘लिलिबिली’को रिलिज मिति सारिएको छ।
यसअघि चैत ३० का लागि प्रदर्शन मिति तय गरिएको फिल्म बैशाख १४ का लागि सारिएको हो। निर्माता तथा निर्देशक मिलन चाम्सले प्राविधिक कारणले रिलिज मिति सारिएको सामाजिक सञ्जाल मार्फत जनाएका हुन्।
सामान्यतया नेपाली फिल्महरुले चैतको अन्तिम साता अर्थात् नेपाली नयाँ वर्षको छेको पारेर रिलिजको मौका छोप्ने गरे पनि ‘लिलिबिली’ युनिट यो अवसरबाट चुकेको देखिन्छ।
त्यसो त नेपाली फिल्म उद्योग बलिउड फिल्मको रिलिज मितिबाट सधैं सजग हुने गरेको छ। आउँदो चैत अन्तिम सातादेखि सुपरस्टार रजनीकान्त अभिनीत ‘२.०’ प्रदर्शनमा आउने प्राय: निश्चित छ। तमिल पात्रोमा पनि नेपाली पात्रो जस्तै बैशाख १ मै नयाँ वर्ष सुरु हुने भएकाले सो फिल्मले यही अवसर छोप्ने देखिएको छ।
फिल्ममा प्रदीप खड्का, प्रियंका कार्की, जसिता गुरुङ, अनुप विक्रम शाही, सविन श्रेष्ठ लगायत कलाकारहरुको अभिनय छ। नेपालका साथै बेलायतमा सुटिङ गरिएको फिल्म प्रदीप भारद्वाजले लेखेका हुन् भने सुदीप बरालले छायांकन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।