डडेलधुरा- अछामका १२ वटा वडा कार्यालयमा नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले तालाबन्दी गरेको छ। पार्टीको सेती महाकाली ब्युरोका नाममा बिभिन्न स्थानीय तहका वडाहरुमा तालाबन्दी गरिएको हो।
मंगलसेन नगरपालिकाको वडा नम्बर-१ कुन्ती, १३ बस्ती, ढकारी गाउँपालिकाको वडा नम्बर-२ हिच्मा, तुर्माखाद गाउँपालिकाको वडा नम्बर-२ भुलु र ७ तोषी, पञ्चदेवल विनायक नगरपालिकाको कालेकाँडा, बाराला, लयाँटी र पुल्लेतोला तथा रामारोशन गाउँपालिकाको वडा नम्बर-३ शान्तडा, ४ बाटुलसैन र ६ भटाकाटियाका वडा कार्यालयमा तालाबन्दी गरिएको विप्लव समूह निकट श्रोतले जानकारी दिएको छ।
'पार्टीको घोषित कार्यक्रमअन्तर्गत असार २२ गते सरकारी कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रमअनुरुप पहिलो चरणमा वडा कार्यालयहरुमा तालाबन्दी गरिएको हो,' श्रोतले भन्यो। यता मंगलसेन नगरपालिका-१ का वडाध्यक्ष गोपाल थापाले कार्यलयको ताला तोडेर छुट्टै ताला लगाइएको जानकारी दिए।
वडा कार्यालयमा तालाबन्दी कसले र कतिबेला गरेको हो भन्ने जानकारी नभएको भन्दै थापाले राति नै लगाएको हुनसक्ने बताए।
'वडा कार्यालयको ताला तोडेर नजिकै फालिएको छ र अर्को ताला लगाइएको छ,' वडाध्यक्ष थापाले भने, 'सँगै दलाल पुँजीवादी संसदीय व्यवस्था अन्त्य गरौं, सामाजिक दलाल पुँजीवादी सरकार खारेज गरौं, नेपाल कम्युनिष्ट पार्टी सेती महाकाली ब्युरो भनेर पर्चा टाँसिएको छ।'
वडाध्यक्षको कार्यकक्ष रहेको कोठामा तालाबन्दी गरिएको रामारोसन-३ का अध्यक्ष ताराबहादुर साउदले पनि जानकारी दिए। लुकेरै तालाबन्दी गरिनु राम्रो नभएको भन्दै तालाबन्दी गर्ने पक्षलाई पत्ता लगाइने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।