रसुवा– रसुवामा प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका मध्ये १२ जनाले मात्र चुनावी खर्च विवरण बुझाएका छन्। मंसिर १० मा पहिलो चरणमा सम्पन्न निर्वाचनका २३ जना उम्मेदवारमध्ये विजयी भएका प्रतिनिधिसभाका १ र प्रदेशसभाका २ गरी ३ जना सांसदसहित १२ जनाले मात्र खर्च विवरण पेश गरेका हुन्।
जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी नविन खालिङले भने, ‘परिणाम आएको मितिले ३५ दिनभित्र खर्च विवरण निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने हुन्छ’, उनले भने, ‘२७ दिन बित्दा जम्मा १२ जनाले मात्र खर्च विवरण पेश गरेका छन्।’
उम्मेदवारहरुले वास्तविक चुनावी खर्च लुकाएर निर्वाचन आयोगलाई भने औपचारिकताका लागि सीमाभित्रै हुनेगरी विवरण बुझाएका हुन्।
वाम, लोकतान्त्रिक, नयाँ शक्ति र स्वतन्त्रबाट निर्वाचनमा भाग लिएका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले निर्वाचन आयोगले तोकेको सिमामा आफ्नो विवरण पेश गरेका हुन्।
जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन आयोगको सीमाभित्र रहेर खर्च गरेको विवरण पेश गरे पनि त्योभन्दा बढी खर्च भएको उम्मेदवारहरु नै बताउँछन्।
कसले कति बुझाए
जिल्ला निर्वाचन कार्यालय रसुवामा पेश गरेको खर्च विवरण अनुसार वाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका नेकपा एमालेका जनार्दन ढकालले १५ लाख ३७ हजार खर्च गरेका छन्। त्यस्तै, वाम गठबन्धनबाटै प्रदेशसभा (क) मा उम्मेदवार बनेका एमालेका कन्र्याल तामाङले १४ लाख ३६ हजार ५ सय खर्चको विवरण पेश गरेका छन्। त्यस्तै, वाम गठबन्धनबाट प्रदेशसभा (ख) मा उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका इन्द्रप्रसाद गोतामेले ४ लाख ६२ हजारको खर्च विवरण बुझाएका छन्।
त्यस्तै, लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभाका विजयी उम्मेदवार नेपाली कांग्रेसका मोहन आचार्यले २४ लाख ६९ हजार ५ सय रुपैयाँको विवरण पेश गरेका छन्।
त्यस्तै, लोकतान्त्रिक गठबन्धनबाट प्रदेशसभा (क) मा उम्मेदवार बनेका कांग्रेसका प्रभात तामाङ लामाले १४ लाख ४६ हजार ५ सय खर्च भएको विवरण पेश गरेका छन्।
त्यस्तै, लोकतान्त्रिक गठबन्धनबाट प्रदेशसभा (ख) का उम्मेदवार बनेका नयाँशक्ति पार्टीका प्रेमबहादुर तामाङले १३ लाख ८० हजार ६ सय रुपैयाँ खर्चको विवरण पेश गरेको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ।
त्यसैगरी प्रतिनिधिसभामा स्वतन्त्रबाट उम्मेदवारी दिएकी शर्मिला थापा क्षेत्रीले २ लाख ३२ हजार ५ सय खर्चको विवरण पेश गरेकी छिन्। स्वतन्त्रबाटै प्रतिनिधिसभाका उम्मेदवार बनेका विरेन्द्रकुमार उप्रेतीले १ लाख १३ हजार रुपैयाँ खर्चको विवरण पेश गरेका छन्। त्यस्तै, स्वतन्त्रबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका शिवबहादुर लामिछानेले ९४ हजारको खर्च विवरण पेश गरेका छन्।
स्वतन्त्रबाटै प्रतिनिधिसभाका उम्मेदवार बनेका कबिराज डंगोलले ७१ हजार रुपैयाँको विवरण बुझाएका छन्।
प्रतिनिधिसभाका अर्का स्वतन्त्र उम्मेदवार विजनकुमार पौडेलले ७१ हजार ६ सय रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन्। स्वतन्त्रबाट प्रतिनिधिसभाका उम्मेदवार सुजन डंगोलले ९१ हजार ५ सय रुपैयाँको विवरण पेश गरेको जिल्ला निर्वाचन अधिकारी खालिङले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।