काठमाडौं- शनिबारको दिन। भक्तपुर दरबार परिसर। भिडभाड अलि बढी थियो। हातमा बेलुन बोकेका धेरै बालबालिका दरबार परिसर डुलिरहेका थिए। आमाबुबाको हात उनीहरूका साथमा थियो। बाबुआमा र बालबालिका खुशी देखिन्थे।
तर खुसी पैसामा होइन, परिस्थितिमा निर्भर हुने रहेछ।
भक्तपुर दरबार परिसरमा एकै समय, एउटै उमेरका दुई बालबालिकाको तुलनात्मक अध्ययन गर्दा यो दृश्य प्रमाणित हुन्थ्यो। यहाँका धेरै बालबालिका बेलुनसँगै खुसी पनि किन्थे भने अर्की एक बालिका चाँहि बेलुन बेचेर खुशी किन्थिन्।
त्यही परिवेशमा हातमा टन्नै रंगीविरङ्गी बेलुन बोकेर हिँडिरहेकी जनकपुरकी ११ वर्षीया किरण पाण्डे बेलुन बेचेर खुसी साट्दै थिइन्।

कसरी धेरैभन्दा धेरै बेलुन बेच्ने भन्ने सोचले उनका पाइला अघि बढ्दै थिए। सानो उमेर भएपनि व्यवहारले परिपक्क। भनिन्छ नि, ‘व्यवहार र बाध्यताले मानिसलाई परिपक्व बनाउँछ'।
हातमा फुलाएका केही बेलुन, पछाडि झोला बोकेर हिँड्दै थिइन्। दरबार परिसरमा नै उनको नजिकै दुई-तीन जना युवती घुम्दै थिए। किरण नजिकै पुगिन् र भनिन्, ‘दिदी बेलुन किनिदिनुस् न।’
उनको आग्रहले दरबार वरपरको वातावरण नै एकछिन् स्तब्ध बनायो।
तिनीहरु मध्येकै एक युवतीले भनिन्, ‘तिमी बेलुन बेच्न पो हिडेको? म त बेलुन कति धेरै बोकेर खेलिरहेको सम्झेको।’ त्यो प्रश्नको कुनै प्रवाह नगरेरै ती बालिकाले भनिन्, ‘प्लिज दिदी एउटा बेलुन किनिदिनुस् न।’
तिनै मध्येकी अर्की युवतीले थपिन्, ‘नाइँ हामीलाई बेलुन चाँइदैन, हामी सानो मान्छे भए पो! ठूलो मान्छेलाई यस्तो चाहिन्न, हामी खेल्दैनौँ।’
घरमा कोही भाइबहिनी त होलान् नि! एउटा किनिदिनुस् न प्लिज! बालहठ उनमा कायम नै थियो। धेरै बेरसम्म उनीले ती युवतीलाई बेलुन किनिदिन आग्रह गरिन्।
ती युवतीले बेलुन नकिन्ने प्रतिक्रिया दिएपछि किरण अरु केही नबोलेर अँध्यारो चेहरामा पछि फर्किइन्।
फेरि केही बालबालिका र तिनीहरुको अविभावक नजिकै पुगिन्। उनले फेरि आग्रह गरिन्।

सानी बालिको मीठो आग्रहपछि केही व्यक्तिले उनका बेलुन हेर्न थाले। 'एउटा बेलुनको कति रुपैयाँ नानी?' क्रेताले प्रश्न गरे।
‘२० रुपैयाँ’ उत्तर दिन्छिन्।
त्यहाँ उनले केही बेलुन् बेचिन्। बेलुन् बेचेपछि उनी निकै खुसी भइन्। र भनिन्, 'आज त अघिल्लो हप्ताकोभन्दा धेरै वटा बेच्नुपर्ने छ।
उनीसँगै सानासाना अरु साथीहरु पनि बेलुन बेचिरहेका थिए।
000
हरेक शनिबार र सार्वजनिक बिदाका दिन भक्तपुर दरबार परिसरमा बेलुन बेच्दै गरेको अवस्थामा भेटिने बालिका हुन् जनकपुरकी किरण पाण्डे।
अरु दिन भने विद्यालय जान्छिन्। सार्वजनिक बिदाका दिनमात्रै व्यापार गरेर पनि आफूलाई पढ्नका लागि खर्च जुटाउँछिन्।
‘यति सानैमा व्यापारी बनेको?’ भेट्नेहरुले प्रश्न गर्छन्। 'होइन। अरु दिन स्कुल जान्छु, शनिबार र सार्वजनिक बिदामा बेलुन बेच्न आउँछु,' उनको उत्तर यही हुन्छ।
उनले व्यापार गर्दै पढ्न थालेको झन्डै दुई वर्ष हुन लाग्यो। उनी आमाबुबासँगै भक्तपुर च्यामासिंह बस्छिन्।
‘म ममिबाबासँग नै बस्छु, स्कुल पढ्दा भनेको बेलामा आफूलाई चाहिने पैसा पनि हुँदैन थियो। मेरा एकदुई जना साथीहरु पनि बेलुन बेच्ने काम गर्थे। त्यसपछि म पनि काम गर्न थालेको,’उनले भनिन् ‘बाबाले कमाएको पैसाले पढ्न समेत नपुग्ने। निकै गाह्रो भइरहेको थियो। पढ्न लाग्ने खर्च समेत नपुग्दा स्कुल जान पनि नपाउने हो कि भन्ने लाग्थ्यो, अनि ममीसँग सोधेर काम गर्न थालेको अहिले व्यापार गरेर ममिलाई पैसा राख्न दिन्छु र चाहिएको बेलामा माग्न सजिलो भएको छ।’
हप्तामा एक दिन शनिबार बेलुन बेचेर उनले ६/७ सय कमाई गर्छिन्। महिनामा २ हजारभन्दा बढी कमाई गर्ने किरणले आफ्नो कमाई खर्च आफैँ जुटाउँछिन्।

उनका बुबा जनकपुर तिर चल्ने बसको टिकट काट्ने काम गर्छन्। किरणका तीन जना भाइबहिनी पनि छन्। उनकी आमा घरमै बस्छिन्। गृहणीको काम गर्छिन्।
भक्तपुर दरबार नजिकै श्री पद्म श्री उच्च माध्यमिक विधालयमा कक्षा ६ मा अध्ययनरत छिन् किरण। पढाइमा पनि उत्तिकै मेहनत गर्छिन्।
‘सार्वजनिक बिदामा बेलुन बेच्न आउँछु, अरु दिन त म सँधै स्कुल जान्छु, राम्रोसँग पढ्छु,’उनी भन्छिन्, ‘म कक्षाको 'थर्ड' हो। मेरो साइन्समा सबैभन्दा बढी नम्बर आउँछ, सँधै ९० कट्छ।’
भविष्यमा डाक्टर बन्ने सपना लिएकी किरण भन्छिन्, ‘म त पछि डाक्टर बन्ने हो। मेरो साइन्स राम्रो छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।