बाह्रबिसे, सिन्धुपाल्चोक – सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले संवैधानिक प्रक्रिया पूरा गरेर सत्ता हस्तान्तरण गर्न सरकार इमान्दारिताका साथ प्रयत्नशील रहेको बताएका छन्।
मन्त्री बस्नेतले आज सिन्धुपाल्चोकको बाह्रबिसे–ओमपार्क सडक आयोजनाको शुभारम्भ गर्दै लामो संघर्षपछि मुलुकले प्राप्त गरेको संविधानको अक्षरशः पालना गर्न सरकार लागिपरेको बताए।
निर्वाचन आयोग र प्रमुख दलहरुको परामर्शमा सरकार राष्ट्रियसभाको निर्वाचनको मिति तोक्ने तयारी गरिरहेको अवगत गराउँदै उनले त्यसपछिका कानूनी प्रावधान पूरा गरेर नयाँ सरकार गठन हुने बताए।
सडक पूर्वाधारले मात्र विकासका अन्य ढोका खुल्न गई दिगो र सन्तुलित विकास हुने उनको भनाइ थियो ।
सडक आयोजनाको समयमै गुणस्तरीयरुपमा सम्पन्न गर्न स्थानीयवासीको सहयोग र योगदान आवश्यक रहेकामा जोड दिँदै उनले भने, “बाह्रबिसे–ओमपार्क सडक आयोजना यस क्षेत्रका जनताको पर्यटकीय, कृषि र सहज यातायातका लागि महत्वपूर्ण छ।”
मन्त्री बस्नेतले मुलुक संघीयतामा गइसकेको र त्यसलाई संस्थागत गर्न सरकारले जनताका दैनिक जीविकोपार्जनका आवश्यकता पूर्ति गर्न भरमग्दुर काम गरिरहेको बताए।
कूल १४.२ किलोमिटर लम्बाइको उक्त सडक रु ३३ करोड ३० लाख १८ हजार ५३५ को लागतमा निर्माण हुने सडक विभागले जनाएको छ।
विसं २०७४ असारदेखि प्रारम्भिक पूर्वाधार निर्माण शुरु गरेको उक्त आयोजना २०७७ असारमा सम्पन्न हुने संयुक्त लगानीकर्ता (लुम्बिनी, बन्धक भगवती, ड्रागन) कम्पनीले जनाएको छ । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।