चितवनमा छ महिनामा मानवअधिकार उलंघनका ५३ घटना

रासस | २०७६ असार २१ शनिबार | Saturday, July 06, 2019 ०६:४९:०० मा प्रकाशित

चितवन अनौपचारिक सेवा केन्द्र इन्सेकले सन् २०१९ को छ महिनामा जिल्लामा ५३ वटा मानवअधिकार उलंघनका घटना भएको जनाएको छ।

इन्सेक चितवनले शुक्रबार यहाँ अर्धवार्षिक प्रतिवेदन सार्वजनिक गर्दै अघिल्लो वर्षको सोही समयमा भन्दा अहिले मानवअधिकार उलंघनका घटना बढ्दै गएको जानकारी दिएको हो।

अघिल्लो वर्ष छ महिनामा ४५ घटना भएका थिए। यस वर्षको छ महिनामा जिल्लामा सबैभन्दा धेरै जबर्जस्ती करणीका घटना सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ। इन्सेकका जिल्ला प्रतिनिधि दीपेन्द्र अधिकारीले ३४ वटा घटना जबर्जस्ती करणीका भएको बताए।

जसमा बालिकादेखि ७३ वर्षीया महिलासम्म रहेका छन्। जबर्जस्ती करणीमा पर्नेमा बालिका बढी रहेका छन्। १७ जना बालिकालाई जबर्जस्ती करणी भएको छ भने चार जनामा यौन दुर्व्यवहार भएको छ।

यस्तै सात जना महिलामाथि करणी भएको छ भने दुई जनामाथि करणीको प्रयास भएको इन्सेकको अर्धवार्षिक प्रतिवेदनमा उल्लेख छ। हाडनाता करणीका चार वटा घटना भएका छन्।

जिल्लामा भएका अन्य मानवअधिकार उलंघनका घटनामा जातीय विभेद तीन वटा, घरेलु हिंसाका छ वटा, बालिका बेचबिखनमा एउटा, महिला बेचबिखनमा एउटा र बहुविवाहमा आठ वटा निवेदन दर्ता भएको सो अवसरमा जानकारी दिइएको थियो।

जिल्लामा पछिल्लो समय बालबालिकाको अधिकार हननका घटना बढ्दै गएको भन्दै इन्सेकले चिन्ता व्यक्त गरेको छ। यसलाई रोक्नका लागि सबै पक्ष सजग हुन आवश्यक रहेको सो अवसरमा जानकारी दिइएको थियो।

कार्यक्रममा प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले कानूनको पूर्णरुपमा कार्यान्वयन हुन नसक्दा समस्या देखिएको बताए।

सो अवसरमा वक्ताले मानवअधिकारका विषयमा भएका घटनालाई दण्ड सजाय बढाउन आवश्यक रहेको बताएका थिए।

कार्यक्रममा अधिवक्ताहरू कल्पना उप्रेती, मुकुन्द दाहाल, नेपाल पत्रकार महासङ्घ चितवका अध्यक्ष राधेश्यम खतिवडा, जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालालगायतले बोलेका थिए।