काठमाडौं– राजधानीमा ३ दिनसम्म चलेको कमल थापा नेतृत्वको राप्रपाले चुनाव हारको कारण हिन्दूराष्ट्र पक्षधर शक्तिलाई कमजोर बनाउने अन्तर्राष्ट्रिय शक्तिको चलखेल भएको निष्कर्ष निकालेको छ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्ति मिलेर पार्टी विभाजन गराउनु र नेपाली कांग्रेससँगको चुनावी तालमेल हुनु पराजयको प्रमुख कारण भएको राप्रपाको ठहर छ।
चुनावी समीक्षा गर्दै राप्रपा केन्द्रीय कार्यसमिति बैठकले हारका ९ बुँदे कारण पहिल्याएको हो। राप्रपाले लोकतान्त्रिक गठबन्धन प्रभावकारी हुन नसकेको र कांग्रेसले सम्झौता अनुसार सिट नदिएको आरोप पनि लगाएको छ।
‘हारको मुख्य कारण लिखित रुपमा भएको सम्झौता अनुरुप कांग्रेसले राप्रपालाई प्रतिनिधिसभा र प्रदेशसभामा सिट नदिनु तथा स्थानीय तहमा इमान्दारीपूर्ण सहकार्य नहुनु हो,’ विज्ञप्तिमा भनिएको छ, ‘उम्मेदवार कम उठाउनु, संविधान संशोधनबारे स्पष्ट अडान लिन नसक्नु, साधन श्रोतको अभाव हुनु लगायत पनि चुनावी हारका कारण हुन्।’
सरकारमा सहभागिताबारे भने जनतामा भ्रम रहेको र त्यसलाई चिर्न नसकेको राप्रपाको निष्कर्ष छ।
बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा राप्रपा अध्यक्ष कमल थापाले बाहिर चर्चा भएजस्तो अध्यक्षको राजीनामा बारे बैठकमा कुरा नउठेको दाबी गरे। केन्द्रीय सदस्यहरुले पार्टीलाई अझ सशक्त रुपमा अघि बढाउन थापाको नेतृत्व आवश्यक भएको निष्कर्ष निकालेको राप्रपा प्रवक्ता भुवन पाठकले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।