काठमाडौं- काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
उनको स्वास्थ्यमा समस्या आएपछि बिहीबार थापाथलिस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो। उपप्रमुख खड्गीको अवस्था सामान्य रहेको नर्भिक अस्पतालका कर्पोरेट कम्युनिकेसन उप–महाप्रवन्धक आरपी मैनालीले जानकारी दिए।
उनले भने, 'छातीमा समस्या देखिएपछि उहाँ अस्पताल भर्ना हुनुभएको थियो। अहिले खतरामुक्त अवस्थामा सिसियुमा हुनुहुन्छ, शनिबार वा आइतबार डिस्चार्ज हुनसक्नेछ।' खड्गीलाई हृदयघातको आशङ्का गरिए पनि उनको एनजिओग्राफी गर्दा त्यस्तो लक्षण नभेटिएको अस्पतालले जनाएको छ।
राष्ट्रिय सभागृहमा आउँदो आर्थिक वर्षका लागि बजेट तयारीबारे भएको बैठकमा सहभागी भएकी उपप्रमुख खड्गीले शारीरिक रुपमा असजिलो महसुस गरेपछि अस्पताल लगिएको महानगरपालिकाले जनाएको छ।
अस्पतालले प्रारम्भिक स्वास्थ्य परीक्षणका क्रममा २४ घण्टा चिकित्सकको निगरानीमा रहन भनेपछि अस्पतालमा भर्ना गरिएको थियो। लगत्तै महानागरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अस्पताल पुगेर उपप्रमुख खड्गीको स्वास्थ्य अवस्थाका विषयमा जानकारी लिएका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।