काठमाडौं– प्रसिद्ध रुसी साहित्यकार एन्टन चेखवको एउटा प्रख्यात भनाइ छ, ‘कलाकारको भूमिका प्रश्न सोध्ने हो,जवाफ दिने होइन।’
हाल काठमाडौं,अनामनगरस्थित मन्डला नाटकघरमा मन्चन भइरहेको एन्टनकै कथा ‘द वर्क अफ एन्ड आर्ट’बाट प्रभावित नाटक ‘मैनदानी’ हेरेपछि दर्शकको मनबाट एउटा प्रश्न तेर्सिन्छ, ‘नाटकमा प्रस्तुत ‘मैनदानी’मा तपाईंले के देख्नुभयो,कला या अश्लीलता?’
स्त्रीपुरुषको अन्तरंग दृश्यमाथि सिर्जित एउटा नग्न कलामाथि बनेको ‘मैनदानी’ वरपर यो पूरा नाटक घुमेको छ। नाटकमा देखिने ‘मैनदानी’ मैन राख्ने भाडोमात्रै होइन, समाजले खुलेर स्वीकार्न नसकिरहेको ‘न्युड आर्ट’ पनि हो। बन्द कोठामा स्वीकारिएको तर अझै खुलेर प्रस्तुत हुन नसकिरहेको यौन पनि हो।
यौन र कलाका मामिलामा देखिएको समाजको संकुचित र ढोंगी चरित्रलाई यो नाटकले कडा व्यंग्य गर्न खोजेको छ।
र्यापर जोजो (अंकित खड्का)ले ‘बेस्ट र्यापर अफ दि इयर’को अवार्ड थापेसँगै सुरु हुन्छ नाटकको दृश्य। त्यसपछि दर्शक एक्कासि डाक्टरको बिरामी चेकजाँचमा पुग्छन्, जहाँ केशव (रिजन परियार) आफ्नो आमाको उपचार गराउन आएको हुन्छ।
केशवसँग उपचार गराउने पैसा हुँदैन तर डाक्टर (आयान खड्का) चिनेजानेका हुन्छन्, त्यसैले लिँदैनन्। केशवले यही कुरा आमालाई सुनाएपछि आमाको मन मान्दैन। आमालाई लाग्छ, कसैलाई केही काम सित्तैमा गरायो भने मर्नुभन्दा अगाडि राम्रोसँग श्वास जाँदैन। त्यसैले केशव आमाले पठाएको सबैभन्दा महत्वपूर्ण सामग्री ‘मैनदानी’ लिएर डाक्टरकहाँ पुग्छ।
बिरामी कक्षमै केटीहरूसँग सल्किने बानी परेको डाक्टर ‘मैनदानी’ देख्नासाथ तर्सिन्छ। कारण, मैनदानीमा देखिने ‘आर्टिस्टिक न्युड कपल’। ऊ बारम्बार उपहार लिन आनाकानी गर्छ। तर, केशवले आमाको सम्मानस्वरुप लिइदिन जिद्दी कसेपछि लिन तयार हुन्छ।
तर, यो मैनदानी ऊ आफ्नो घर या कार्यालयमा सजाउँदैन, बरु पन्छाउनका लागि आफ्नो वकिल साथी (इँगिहोपो कोइँच सुनुवार) कहाँ लिएर जान्छ ‘उपहार’ स्वरुप। वकिलको कार्यालयमा उसकै पूर्वप्रेमिका प्रिया (निकिता आचार्य) हुन्छे जो चित्रकार श्रीमानको व्यवहारबाट प्रताडित भएको गुनासो गरिरहेकी हुन्छे।
जतिखेर पनि न्युड आर्टसँग रमाउने, आफूलाई समय नदिने गुनासो वकिलसँग राखिरहेकी हुन्छे।
यही समयमा ‘मैनदानी’ लिएर पुगेका डाक्टरको उपहार प्रस्ताव वकिलले सुरुमा अस्वीकार गर्छ। एकछिन त कहिल्यै उपहार नदिने साथी उपहार लिएर आउँदा तिनछक्क पनि पर्छ। अन्त्यमा साथीको गुनासोअघि वकिलको केही लाग्दैन, उपहार स्वीकार गर्छ। वकिलको टेबलमा त्यस्तो ‘मैनदानी’देखेर उता प्रिया पनि बिच्किन्छे।
वकिलको पालो उसले पनि त्यो ‘मैनदानी’ र्यापर जोजोलाई उपहार दिन्छ। समाज र मिडियाको डरले र्यापर पनि आफ्नो ‘मैनदानी’ सजाइरहन सक्दैन। चक्कर लाउँदा–लाउँदै घुमिफिरी त्यो मैनदानी फेरि डाक्टरकैमा पुग्छ।
सरल ढंगबाट हेर्दा नाटकको द्धन्द ‘मैनदानी’ लाग्ला तर गहिरिएर हेर्ने हो भने यो नाटक दुई पक्षबीचको द्धन्द्व हो। एउटा, जो चित्रकला या मूर्तिकलामा देखाइने यौन विषयलाई ‘विशेष कला’ ठान्छ, अर्को जो यसैलाई अश्लीलता ठान्छ र समाज बिगारेको अरोप लगाउँछ।
एउटा सिर्जना दर्शककहाँ पुगेपछि त्यो सर्जकको रहँदैन। त्यसलाई दर्शकले आ–आफ्नो दृष्टिबाट व्याख्या र विश्लेषण गर्छन्।
नाटकभित्र ‘मैनदानी’लाई पात्रहरूले आ–आफ्नो दृष्टिकोणबाट बुझे। नाटक हेरेर थिएटरबाहिर निस्किएपछि यसबारे दर्शकको पनि आ–आफ्नो धारणा पक्कै बन्छ। तर, यो नाटकले दर्शकलाई दिने यतिमात्रै होइन। हाम्रो समाज यौनका मामिलामा, कलाका मामिलामा या ‘न्युड आर्ट’का मामिलामा कति संकुचित र दुईजिब्रे छ, त्यसको दृश्य पनि हो यो नाटक।
‘अब्सर्ड शैली’मा फिल्म समीक्षा गरेकै कारण प्रनेस गौतमले ९ दिन हिरासत बसेको समयमा आएको यो नाटकले कलाप्रति राज्यले देखाइरहेको व्यवहारलाई पनि कडा रुपमा प्रहार गरेजस्तो लाग्छ।
फिल्ममा पुलिसलाई ढुंगा हानेको दृश्य राख्दा ‘पुलिसलाई किन ढुंगा हानेको’ भनेर सोध्ने नेपाली फिल्मको सेन्सर बोर्डका लागि पनि कडा व्यंग्य हो यो नाटक।
‘मैनदानी’ले स्क्यान्डल र चुट्किलाको पछि दौडिने मिडिया र बजारलाई पनि खरो व्यंग्य गरेको छ। र्यापर जोजो अवार्ड समातेको एउटा फोटोका कारण विवादमा तानिएका हुन्छन्। अवार्ड स्वरुप उनले पाएका हुन्छन्, नग्न महिलाको चित्रकला।
अवार्ड उचाल्दा महिलाको संवेदनशील अंगमा छोएको भन्दै उनले अवार्ड उचालेको तस्बिर विवादमा तानिएको हुन्छ।
विवादले आजित जोजोको भिडियो इन्टरभ्यू लिन एकदिन एक युवती उनको घरमै पुग्छिन्। नाटकमा देखिने उनको प्रश्न गर्ने शैली र व्यवहारले अहिलेको युट्युबकारितालाई कडा व्यंग्य गरेजस्तो लाग्छ।
‘अफ दि स्क्रिन’ यो ठूलो इस्यु होइन भन्ने ती पत्रकार ‘अन दि स्क्रिन’ चर्किन थालिहाल्छिन्। उनको त्यो शैलीले अहिले भ्यूज र ट्रेन्डिङको पछि दौडिरहेको पत्रकारितालाई दह्रो व्यंग्य गरेजस्तो देखिन्छ। वरिष्ठ पत्रकार किशोर नेपालले भन्ने लतार्ने, चिथोर्ने, टोक्ने र गिजोल्ने शैलीको पत्रकारिताका लागि यो नाटक गतिलो झापड हो।
कलाकारका भूमिकामा रहेका रञ्जित (मिलन कार्की) मिडियासँग डराउनुको दृश्यले हाम्रो मनोरञ्जन पत्रकारितालाई जिस्काएजस्तो लाग्छ।
इन्टरभ्यू लिन पुग्दा सुरुमै ‘हेडलाइनचाँहि के आउँछ’ भन्ने प्रश्न यो पंक्तिकारले प्रायःसेलिब्रेटीको मुखबाट झेलेको छ। नाटक हेर्दा रञ्जित र जोजो हाम्रै मनोरञ्जन क्षेत्रका मिडियाबाट पीडित सेलिब्रेटीजस्ता लाग्छन्।
‘मैनदानी’को बिरामी जाँच्ने कक्षमा राखिएको एउटा नेमप्लेट निकै बिम्बात्मक लाग्छ। त्यहाँ लेखिएको थियो, ‘डियर सोसाइटी, गेट वेल सुन।’
बिरामी कक्षमा देखिने त्यो नेमप्लेटले समाजको संकुचित सोचलाई मात्रै ‘गेट वेल सुन’ भनिरहेको थिएन, बरु एउटा ‘मैनदानी’ सजाउन नसकने ती डाक्टरलाई पनि ‘गेट वेल सुन’ भनिरहेको थियो।
संयोग गुरागाईंको परिकल्पना र निर्देशन रहेको यो नाटक मन्डला नाटकघरमा साउन–३२ गतेसम्म मञ्चन हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।