काठमाडौँ – उज्यालो नेपालका संरक्षक कुलमान घिसिङसँगको सहमति भंग भएकोबारे रास्वपाका सभापति रवि लामिछानेले पार्टी सचिवालय बैठकमा ब्रिफिङ गरेका छन् ।
केहीबेरदेखि रास्वपाको आकस्मिक सचिवालय बैठक जारी छ । भर्चुअल माध्यमबाट भएको बैठकको सुरुमै लामिछानेले कुलमान पक्षले दिनदिनै माग फेर्ने गरेपछि अहिले एकताबद्ध भएर जान नसक्ने अवस्था आएको सचिवालयको भर्चुअल बैठकमा जानकारी दिएका थिए ।
रास्वपाका दुई सचिवालय सदस्यहरूका अनुसार पुस १४ मा सहमति भएको दिनदेखि नै कुलमानले नयाँ-नयाँ माग अघि सार्दै आएको कुरा सभापति लामिछानेले बताएका थिए । बालेन्द्र शाह र कुलमान घिसिङसँग राम्रो पार्टी बनाउने सोचेर सहमति गरेको, सहमतिका लागि नक्खु कारागारमा रहेदेखि नै पहल लिएको तर अन्तिममा सँगै जाने अवस्था नबनेको घिसिङले बताएका थिए ।
कुलमानले सरकारको मन्त्री पद छोडेपछि पार्टीमा उपसभापति दिने सहमति भइसकेपछि दिनदिनै नयाँ-नयाँ माग राख्ने गरेको रविले सचिवालय बैठकमा सुनाएका थिए ।
उक्त निर्णयमा वरिष्ठ नेता बालेन शाह पनि सहमत रहेको स्रोतले बतायो ।
'कुलमानले प्रत्येक दिन नयाँ नयाँ कुरा ल्याउने गर्नुभयो । एउटा माग सम्पन्न गर्यो भोलिपल्ट अर्को माग ल्याउने काम भयो । त्यसमा पनि मेरो भाग कति, म के हुने, मेरा मान्छे कति जना कहाँ राख्ने जस्ता माग ल्याउने काम कुलमानबाट भयो, 'बालेनले केन्द्रीय समितिमा राख्ने मान्छेका नाम दिनुभयो । प्रक्रिया अगाडि बढ्यो । तर कुलमानले समानुपातिकमा नाम दिएपछि छुट्टाछुट्टै मान्छे मिलाउँ भन्ने । राम्रो मान्छे छ भने तेरोमेरो नभनी काम गरौं भन्दा भागबण्डा र पावरको कुरा मात्रै प्रधान बनाउनुभयो ।'रविले बैठकमा भनेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता प्रक्रिया भाँडिएसँग उज्यालो नेपाल पार्टीले पनि केन्द्रीय समितिको बैठक बोलाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।