जनकपुर- राैतहटमा एक बुवाले आफ्नै अवाेध ४ वर्षाीया छोरीको हत्या गरेका छन्। मौलापुर नगरपालिका–६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले बिमाको रकमको लोभमा ४ वर्षीया छोरी लक्ष्मी राय यादवको घाँटी थिची हत्या गरेर पोखरीमा फालेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले शुक्रबार पत्रकार सम्मेलन गर्दै आरोपी यादवलाई सार्वजनिक गरेको छ। रौतहट प्रहरीका डिएसपी तथा प्रवक्ता नवीन कार्कीले बिमाको रकम हात पार्नका लागि यादवले छोरीको निर्ममतापूर्वक हत्या गरेको बताए। हत्याको भोलिपल्ट पोखरीमा ४ वर्षीया लक्ष्मीको शव फेला परेपछि प्रहरीले अनुसन्धान गरेको थियो।
रामकिशोरकी कान्छी छोरी हुन् लक्ष्मी। उनले छोरीको सुरक्षित भविष्यका लागि बिमा गराएका थिए। रौतहटको गरुडामा रहेको प्रभु बैंकमा रामकिशोरकले कान्छी छोरी लक्ष्मीको २५ लाख रकमको बिमा गराएका थिए। बिमावापतको पहिलो किस्ता करिब पौने २ लाख उनले बैंकलाई बुझाएका पनि थिए।

तर, कसैले बिमा गरेको एक महिनामै यदि बिमकको निधन भएका दुई गुणा पैसा फिर्ता पाइन्छ भन्ने सुनायो। त्यसपछि उनमा छोटो समयमा नै धेरै पैसा कमाउने लोभ जाग्यो। रामकिरोशले पैसाको लोभमा बिमा गराएको २९औं दिनमा छोरीको हत्या गरेका थिए। आर्थिक अवस्था कमजोर भएको हुँदा पैसा कमाउने लोभमा रामकिशोरले ४ वर्षीया छोरीको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
उनले छोरीलाई घरमै कुटपिट गरी हत्या गरेको र हत्यापछि शव पोखरीमा फालेर आफैं छोरी हराएको भन्दै प्रहरीलाई खबर गर्न पुगेको डिएसपी कार्कीले बताए।
नियन्त्रणमा लिइएका यादवलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट 'मुलुकी अपराध संहिता २०७४'को ज्यानसम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरेर जिल्ला अदालत रौतहटबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान कार्य अगाडि बढाइएको प्रवक्ता कार्कीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।