काठमाडौं– यू–१९ एसियाकप छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको छ। जितसँगै नेपाल समूह 'ए'को विजेता बन्दै एसिया कप छनोट (पूर्वी) क्षेत्रको सेमिफाइनलमा प्रवेश गरेको छ।
मलेसियाको किनरारा ओभल मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय २६ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको सिंगापुरलाई नेपालले ३९ दशमलब १ ओभरमा १ सय ९ रनमा अलआउट गरेको हो।

सिंगापुरका लागि हरि कुक्रेजाले सर्वाधिक ३०, कन्नुसामी सथिशले २४ तथा चन्द्रमौली श्रीदेवले २३ रन बनाए। अन्य ब्याट्स्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका लागि कुशल मल्लले ४ विकेट, तिलकराज भण्डारी २, सागर ढकाल र रसिद खानले १/१ विकेट लिए।
ब्याटिङतर्फ नेपालका रित गौतमले १ सय १५ रनको यागदान दिए। सो योगफल तयार गर्न उनले १ सय ३७ बलको सामना गरेका थिए। ९० बलमा ९० रन बनाएका खडक बोहरा भने १० रनले शतक बनाउनबाट चुके।

कुशल मल्लले बिस्फोटक ब्याटिङ गर्दै २३ बलमा ५१ रन जोड्दै अविजित रहे। पवन सर्राफले भने ४५ रन बनाए।
यसअघिको आफ्नो पहिलो खेलमा नेपालले चीनमाथि १० विकेटको शानदार जित निकालेको थियो। चीन २३ दशमलव १ ओभरमा ५३ रनमा अलआउट भएको थियो। नेपालले ५ ओभरमा बिना विकेट लक्ष्य भेट्टाएको थियो।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।