काठमाडौं- युवा तथा खेलकुदमन्त्री जगत बहादुर सुनार विश्वकर्माले मन्त्रालयअन्तर्गत प्रस्तावित बजेटले खेल क्षेत्रको विविध चुनौतीको सामना गरी खेलकुदको विकास र सम्मृद्धिलाई प्राथमिकतामा राखेको बताएका छन्।
राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा 'विनियोजन विधेयक २०७६' अन्तर्गत युवा तथा खेलकुद मन्त्रालयमाथिको छलफलका क्रममा उठेका प्रश्नको सम्बोधन गर्दे उनले अन्तर्राष्ट्रिय पदक तालिकामा देशको स्तरलाई माथि उठाउने तथा खेलका विविध क्षेत्रको विकास र सम्मृद्धिलाई प्राथमिकतामा राखिएको बताए।
उनले सबै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको सुविधायुक्त रंगशाला निर्माण गर्ने लक्ष्यका साथ अगाामी आर्थिक वर्षमा प्रदेश २ को धनुषा, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको धनगढीमा प्रदेशस्तरीय रंगशाला निर्माणका लागि १० करोड विनियोजन गरिएको स्पष्ट पारे।
उनले खेलकुद पर्यटनको विकास गर्न जुम्ला, लुक्ला, हेलम्बु, मनाङ र घान्द्रुकमा हाई अल्टिच्युट ट्रेनिङ सेन्टर स्थापनाका लागि पनि बजेट विनियोजन गरिएको बताए।
खेलाडीको उपचार तथा आकस्मिक दुर्घटना सहयोग, खेलाडी स्वास्थ्य विमा, दुर्घटना विमा र जीवनविमाको व्यवस्था गरिएकोले यसबाट खेलाडीहरु उत्प्रेरित हुने विश्वास उनले व्यक्त गरे।
उनले काठमाडौं उपत्यकामा सुविधासम्पन्न अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्ने, ७ वटै प्रदेशमा सुविधा सम्पन्न रंगशाला निर्माण गर्ने तथा ७ सय ५३ वटै स्थानीय तहमा दीर्घकालिन महत्वका खेल मैदान बनाउने उद्देश्य बजेटले लिएको दाबी गरे। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।