डडेल्धुरा– नगरबसको माग गर्दै डडेल्धुराको अमरगढी नगरपालिकाका स्थानीयबासी आन्दोलित भएका छन्। नगरबस नहुँदा आफूहरुलाई सदरमुकाम आउन सास्ती हुने गरेको भन्दै अमरगढी नगरपालिकाको वडा नम्बर १०–राई र वडा नम्बर–११ मा पर्ने लिटरी गाउँ र सल्लाघारीका स्थानीयले आन्दोलन गरेका हुन्।
विगतदेखि नै यातायातका साधनको सास्ती भोगिरहेका अमरगढी नगरपालिका वडा नम्बर १० र ११ का स्थानीयको रोस आन्दोलनमा परिणत भएको छ। जिल्ला सदरमुकामबाट ११ देखि १८ किलोमिटरको दूरीमा रहेको दुवलै वडाबासीले सहजै यातायातका साधन नपाउने भएकाले उनिहरु आन्दोलत भएका हुन्।
दैनिक कामकाज तथा उपचारका लागि सदरमुकाम धाउनुपर्ने भएकाले सहजै गाडी नपाउने गरेको भन्दै स्थानीयहरुले नगरबसको माग राखेर अमरगढी नगपालिकामा आन्दोलन गरेका छन्।
अमरगढी नगरपालिका–११ की स्थानीय गोमतीदेवि बोहरा आक्रोशित हुँदै भनिन–‘बिहान ७ बजेदेखि १२ बजेसम्म बसेर दोब्बर भाडा दिँदा समेत गाडीले रोक्दैनन्। बिरामीहरुलाई झन् समस्या छ समयमा गाडी नपाँउदा हामीलाई अप्ठेरो हुने गरेको छ, हामीलाई एउटा नगरबस र एउटा एम्बुलेन्स चाहियो–चाहियो!’
पटकपटक वडामार्फत नगरपालिकामा नगबसको लागि माग गरेको भए तापनि कुनै
सुनुवाइ नभएको आन्दोलनकारीहरुको गुनासो रहेको छ। यस पटक पनि कुनै सुनुवाइ नभए थप चरणका आन्दोलन थाल्ने उनीहरुको भनाइ छ।
‘आज हामी बाध्य भएका छांै, गत वर्ष पनि वडादेखि नगरपालिकासम्म बुझाएको ज्ञापनपत्रमा आसम्म सुनुवाइ भएन। यातायात समिति उग्रताराले स्थानीयबाट महँगो शुल्क लिने अनि बीचबाटोमै झारीदिने गर्छ,’ अमरगढी नगरपालिका राईका स्थानीय सुरत बोहराले भने, ‘गाउँमा एक जना बिरामी भएपछि हजार रुपैयाँसम्म तिरेर अस्पताल आउनुपर्ने बाध्यता छ, हामीलाई नगरपालिकाको आन्तरिक विवाद थाहा छैन, हाम्रो माग जसरी पनि पूरा हुनुपर्छ।’
कार्यपालिकाले सुनेन वडाको गुनासो
उता वडा नम्बर ११ को कार्यालयले नगरबसका विषयमा अमरगढीको कार्यपालिकामा पटकपटक प्रस्ताव लगेको तर कार्यपालिकाले आफ्नो प्रस्ताव पारित नगरेको बताएको छ। बहुमतका कारण निर्णय नभएका कारण स्थानीयको माग पूरा गर्न नसकेको वडा नम्बर ११ को कार्यालयले जनाएको छ।
‘स्थानीयले अमरगढी नगरपालीकामा जनप्रतिनिधि आएपश्चात नगरबसको माग गरेका थिए,’ अमरगढी नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष सूर्यप्रकाश खड्काले भने, ‘मैले पटक–पटक कार्यापालिका बैठकमा मौखिक र लिखित रुपमा नगरबसको प्रस्ताव राखेको थिएँ तर कुनै सुनुवाइ भएन।’ नगरकार्यपालिकाले प्रस्तावलाई अस्वीकार गरी टोकरीमा फालिएको उनको गुनासो छ।
‘आज कार्यपालिकाको बैठक बस्ने थाहा पाएर स्थानीय आफ्नो माग पूरा गराउन नगरपालिका घेराउ गर्न आएका हुन्, अबको बैठकले नगरबसको बारेमा निर्णय गरोस्,’ उनले भने।
नगरबस नहुँदा स्थानीयले चाहिएको समयमा गाडी नपाउने समस्या भोगिरहेका छन्। त्यसमाथि यात्रुबाहक साधनले उनीहरुबाट मनपरी भाडा लिने गर्छन्। पटक–पटक ज्ञापनपत्र बुझाएका उनीहरुको माग नगपालिकाको आन्तरिक समस्याका कारण पूरा नहुने हो भने आक्रोसित स्थानीय थप आन्दोलित हुने निश्चित छ।
नगरकार्यपालिकामा नेपाली कांग्रेसको बहुमत भएकाले नगरबस ल्याउने एक वर्ष अगाडिको योजना कार्यान्वय गर्न नसकेको नगरप्रमुख विशेश्वरप्रसाद ओझाको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।