राजविराज- सप्तरीमा बिहीबार साँझ एक युवकले खुकुरी प्रहार गरी आफ्नै आमाको हत्या गरेका छन्।
हत्या आरोपी सुरङ्गा नगरपालिका-१ चहकाका ३४ वर्षीय रिठ्ठे भनिने जङ्गबहादुर पुलामीलाई प्रहरीले गिरफ्तार गरेको छ। उनले आमा ६४ वर्षीया धनमाया पुलामीलाई खुकुरीले हानेर हत्या गरेको प्रहरीले जनाएको छ।
आमाको हत्या गरी आँगनमा खुकुरी बोकेर बसेको अवस्थामा पुलामीलाई नियन्त्रण गरिएको सप्तरी प्रहरीले जनाएको छ। खुकुरी प्रहारबाट घाँटीमा पछाडिबाट तीन ठाउँमा काटिएको र अनुहारका विभिन्न ठाउँमा चोट लागेको अवस्थामा मृतकको शव बरामद भएको प्रहरीले जानकारी दिएको छ।
रिचार्ज कार्ड किन्न आफू बजार गएका बेला छोराले नै आमाको हत्या गरेको मृतकका पति ६५ वर्षीय लोकबहादुर पुलामीले प्रहरीलाई बताए।
मानसिक रुपमा अस्वस्थ जङ्गबहादुरले आमाको हत्या गरेको आशंका प्रहरीले समेत गरेको छ। सोही आशङ्कामा छोराछोरीसहित पत्नीले समेत जंगबहादुरको साथ छोडेर माईत बसेको जनाईएको छ।
मृतकको शव पोष्टमार्टमका लागि सिरहाको लहान अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।