काठमाडौं– यसअघि लगातर दुई पटकको विजेता टोली चिलीलाई ३–० गोल अन्तरले हराउँदै पेरु कोपा अमेरिकाको फाइनलमा पुगेको छ। बिहीबार बिहान भएको खेलमा पेरुले चिलीलाई ३–० गोलले पराजित गर्दै अन्तिम २ को यात्रा तय गरेको हो।
पेरुले अब आयोजक राष्ट्र ब्राजिलसँग उपाधिका लागि आइतबार खेल्नेछ। घरेलु मैदानमा आयोजना भएको कोपा अमेरिकामा ब्राजिलले यसअघिनै अर्जेन्टिनालाई २–० गोलअन्तरले हराउँदै फाइनलको यात्रा तय गरिसकेको छ।
पेरुको जितका लागि एडिसन फ्लोरेज, योसिमार योतुन र पाओलो गुएरेरोले एक/एक गोल गरे। खेलको २१औं मिनेटमा एडिसनले गोल गर्दै पेरुलाई अग्रता दिलाएका थिए। उनले आन्द्रे कारिल्लोको पासमा गोल गरेका हुन्।

त्यस्तै, २८औं मिनेटमा योतुनले गोल गर्दै पेरुको अग्रता दोब्बर पारे। उनका लागि पनि कारिल्लोले नै पास उपलब्ध गरेका थिए। पहिलो हाफमा २–० ले अग्रता लिएको पेरुले दोस्रो हाफमा थप एक गोल गर्यो। पाओलोले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै पेरुलाई ३–० को जित दिलाएका हुन्।
खेलमा पेरुमाथि बारम्बार दबाब सृजना गरेको चिलीले गोल गर्न भने सकेन। चिलीले अधिकांश समय पेरुलाई दबाबमा राखेको थियो। यस पराजयसँगै चिली उपाधि भिडन्तमा पुग्नबाट बाहिरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।