लन्डन– इंग्लिस प्रिमियर लिगको बुधबार राति भएको लन्डन डर्बीमा चेल्सी र आर्सनलले २–२ गोलको बराबरी खेलेका छन्।
दोस्रो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा हेक्टर बेलेरियनले गोल गरेपछि आर्सनल हारबाट जोगियो। हेक्टरको गोलपछि खेल २–२ गोलको बराबरीमा सकियो।
६३ मिनेटमा ज्याक विल्सरले गोल गर्दै आर्सनललाई अग्रता दिलाए। तर ६७ मिनेटमा चेल्सीका इडिन हजार्डले पेनाल्टीमार्फत बराबरी गोल फर्काए। ८४ मिनेटमा मार्कोस अलन्सोले अर्को गोल गरेपछि चेल्सी २–१ ले अघि बढेको थियो।
प्रिमियर लिग सिजनकै रोमाञ्चक खेलमा दुवै टिमले गरी ३३ वटा गोल गर्ने अवसर सिर्जना गरेका थिए। तर दुवै टिमका गोलकिपरले उत्कृष्ट बचाउ गरेपछि ४ गोल मात्र भयो।
बराबरीपछि चेल्सीले दोस्रो स्थानमा उक्लने अवसर गुमाएको छ। चेल्सी २२ खेलबाट ४६ अंक जोड्दै तेस्रो स्थानमा छ। दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको समान खेलबाट ४७ अंक छ भने शीर्ष स्थानको म्यानचेस्टर सिटीको ६२ अंक छ।
चौथो स्थानको लिभरपुलको ४४ अंक छ। एक खेल कम खेलेको टोटनह्यामको ४० र छैटौं स्थानको आर्सनलको ३९ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।