काठमाडौँ – नेकपा एमालेका नेता माधवकुमार नेपालले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताबारे छलफल भइरहेको बताएका छन्।
उनले दुई पार्टीबीच राजनीतिक, वैचारिक र सैद्धान्तिक विषयमा छलफल भइरहेको बताए।
नेता नेपालले आवश्यकताअनुसार सबै नेताको व्यवस्थापन गरेर पार्टी एकता गरिने गरी छलफल भइरहेको स्पष्ट पारे। “सानो प्रभावकारी र चुस्त सांगठनिक संरचना आवश्यक छ”– उनले भने।
उनले पदको निम्ति हानथाप गर्नुभन्दा पनि त्याग गर्ने वातावरण निर्माण गर्नुपर्ने बताउँदै महाधिवेशनको मिति तोकेर नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए।
नेता नेपालले निर्वाचनमा वाम गठबन्धनलाई जनताले बहुमत दिएर पठाएको भन्दै पाँच वर्षसम्म वाम गठबन्धनलाई काम गर्ने वातावरण निर्माण गर्न काँग्रेससँग आग्रहसमेत गरे।
उनले पार्टी एकता भए पनि जनताको बहुदलीय जनवाद सिद्धान्तलाई नछोडिने बताए। “जवजको सान्दर्भिकता अझै बढ्दै गएको छ, कतिपय कुरा समयअनुसार फेरेका छौँ, माओवादीले पनि २१ शताब्दीको जनवाद भनिरहेका बेला समाजवादउन्मुख अर्थतन्त्र नै हाम्रो यात्रा हो”– उनले भने।
इच्छाशक्ति भए नेपालको विकास चाँडै हुने उनको भनाइ थियो। उनले एमालेले प्रधानमन्त्रीको जिम्मेवारी पाए अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री हुने स्पष्ट पारे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।