काठमाडौं- निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गर्न दबाव दिने उद्देश्यले भइरहेका आन्दोलनप्रति आपत्ति प्रकट गरेको छ।
आयोगले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मतपरिणाम छिटो घोषणा गर्ने बहानामा आफूहरुले कानुनले तोकेको विधि र प्रक्रियालाई बेवास्ता गर्न नसक्ने समेत स्पष्ट पारेको छ।
संविधान र कानुन विपरीत उत्तेजना फैलाउन तथा संवैधानिक अंगको मानमर्दन हुनेगरी लाञ्छना लगाउने क्रियाकलाप तत्काल बन्द गर्न समेत आयोगले सम्बद्ध सबैमा अपिल गरेको छ।
निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गर्न आयोगले ढिलाइ गरेको भन्दै वाम गठबन्धन सम्बद्ध युवा विद्यार्थी संगठनहरुले आन्दोलन गर्दै आएका छन्। उनीहरुले राजधानीका साथै विभिन्न स्थानमा प्रदर्शन गर्दै निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गर्न प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहित आयोग पदाधिकारीलाई दबाब दिएका छन्।
निर्वाचनको परिणाम सार्वजनिक गर्न ढिलाइ भएको भन्दै विभिन्न क्षेत्रबाट अराजक गतिविधि सुरु भएको बताउँदै आयोगले सो विषयले आश्चर्यमा पारेको उल्लेख गरेको छ।
आयोगका सहसचिव एवं प्रवक्ता दिनेशकुमार घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रियसभा सदस्यको निर्वाचन सम्पन्न नभई उक्त परिणाम सार्वजनिक गर्न आयोगलाई संवैधानिक र कानुनी अड्चन भएको हुँदा परिणाम छिटोभन्दा छिटो सार्वजनिक गर्न आयोग आतुर हुँदाहुँदै पनि सम्भव हुन सकेको छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।