काठमाडौं- सर्वोच्च अदालतले नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले पुनः मतगणना हुनुपर्ने माग गर्दै हालेको उजुरीमा मतपत्र र मुचुल्का पेश गर्न आदेश दिएको छ।
प्रधानन्यायाधीश गोपाल पराजुलीसहित ५ जना न्यायाधीशको संयुक्त इजलाशले निर्वाचन आयोगलाई अर्को सुनुवाइमा मतगणनाको टिपोट र मुचुल्कासहित उपस्थित हुन आदेश गरेको हो।
न्यायाधीशहरु दीपकराज जोशी, ओमप्रकाश मिश्र ,चोलेन्द्र शम्शेर राणा र दीपककुमार कार्कीको इजलासले यस्तो आदेश सुनाएको हो।
सर्वोच्चको संवैधानिक इजलाशले दोस्रो सुनुवाइमा यस्तो आदेश गरेको हो। फरक–फरक बुथमा एउटै मतगणना भएको निवेदक पक्षको दाबीका आधारमा अन्तरिम आदेश जारी हुने वा नहुने विषयमा छलफल गर्नका लागि मतपेटिका हेर्ने निष्कर्षसाथ सर्वोच्चले यस्तो आदेश जारी गरेको हो। यसअघि सर्वोच्चले दुवै पक्षलाई छलफलमा मात्र बोलाएको थियो।
तनहुँ क्षेत्र नम्बर २ को प्रदेशसभा (क) को निर्वाचनमा ५ मतले पराजित भएपछि पुनः मतगणना हुनुपर्ने माग गर्दै पौडेलले पुस ६ मा सर्वोच्च अदालतमा उजुरी निवेदन दर्ता गराएका थिए। तनहुँ २ को प्रदेशसभा (क) मा पौडेललाई माओवादी केन्द्रकी उम्मेदवार तथा बिनाविभागीय मन्त्री आशा कोइरालाले ५ मतको झिनो अन्तरले पराजित गरेकी थिइन्।
२३ सय २८ मत खसेको केन्द्रमा २३ सय ७० गणना गर्दै धाँधली भएको दाबी रिटमा गरिएको थियो। ३७ मतले विजयी भएको आफूलाई हराउन दुईवटा बुथमा ४२ मत दुई पटक गणना भएको दाबी पौडेलको रिटमा गरिएको छ।
धनुषा ३ मा समाचारको विवरण पेश गर्न आदेश
धनुषा क्षेत्र नम्बर ३ मा पुनःमतदान गर्न माग गर्दै सर्वाेच्चमा दायर भएको उजुरीमा समाचारको विवरण पेश गर्न आदेश भएको छ। वाम गठबन्धनका माओवादी केन्द्रका उम्मेदवार रामसिंह यादवले दायर गरेको रिटमा सर्वोच्चको संवैधानिक इजलाशले मतपरिणाम सार्वजनिक नभएको अवस्थामा कुन आधारमा समाचार प्रकाशन भएको हो हेर्न भन्दै समाचारको विवरण मगाएको हो।
निवेदक यादवले जनता टेलिभिजनले मतगणना सुरु भएलगत्तै राजपाका राजेन्द्र महतो विजयी भएको भनी समाचार प्रसारण गरेको दाबी गरेपछि उक्त समाचारको विवण इजलाशले मगाएको हो। धनुषा ३ मा राजपाका महतोले नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई पराजित गरेका थिए।
मतगणना चलिरहँदा नै सञ्चार माध्यमले महतो विजयी भएको प्रसारण गरेको र त्यसकै आधारमा आयोगले निर्वाचन परिणाम सार्वजनिक गरेको दाबी उजुरीमा गरिएको थियो।
गत मंसिर २१ मा सम्पन्न चुनावमा महतोले मौन अवधिमा अनर्गल प्रचारबाजी गराएर अचारसंहिताको उल्लंघन गरेको आरोप लगाउँदै यादवले फेरि चुनाव गराउन माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।