काठमाडौं– अधिकांश मन्त्रालयहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएका निर्देशनहरु नमानेपछि आयोगले बुधबार कर्मचारीलाई कारबाहीको चेतावनी दिएको छ।
सबै मन्त्रालयका सम्पर्क व्यक्तिहरुलाई आयोगमा बोलाएर सचिव राजन खनालले एक महिनाभित्र निर्देशनहरु नमाने कारबाहीको चेतावनी दिएका हुन्।
कार्यक्रममा राजन खनालले आयोगका निर्णय कार्यान्वयनमा प्रभावकारिता ल्याउन आवश्यक रहेको भन्दै सम्पर्क व्यक्तिहरूको ध्यानाकर्षण गराएको आयोगद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। विभिन्न निकायहरूबाट आयोगको निर्णय कार्यान्वयन गर्ने सिलसिलामा समस्याहरू आउनसक्ने भएपनि समस्याको समाधान गरी निर्णय कार्यान्वयन गर्नका लागि क्रियाशील रहन उनले निर्देशन दिए । मन्त्रालयहरु निर्देशन कार्यान्वायनमा निष्फिय भएपछि आयोगले सम्पर्क व्यक्तिहरुलाई बोलाएको थियो।
आयोगको निर्णय कार्यान्वयन नगरी जिम्मेवारी पन्छाउने पदाधिकारीउपर कानूनबमोजिम कारबाही हुने भएकोले कार्यशैलीमा सुधार गर्न सचिव खनालले निर्देशन दिएको आयोगको बिज्ञप्तीमा उल्लेख छ।
कार्यक्रममा निर्देशन नमानेको उदारणहरु पेश गरिएको थियो। विभिन्न मन्त्रालयहरुबाट गएका अधिकारीहरुले प्राविधिक समस्या देखाएका थिए।
शिक्षा, स्वास्थ्य, भुमिसुधार र गृह मन्त्रालयले आयोगका धेरै निर्णयहरु कार्यान्वायन नगरेको एक अधिकारीले बताए। आयोगले विभागीय कारबाहीदेखि कार्यविधि निर्माणसम्मका निर्देशन दिएपनि कार्यान्वायन नगरेपछि सम्पर्क व्यक्तिहरुलाई बोलाएको हो। ‘आयोगको निर्णय कार्यान्वायनमा अलि निष्क्रियता भएपछि हामीले छलफलमा बोलाएर निर्देशन दिएका हौं,’ सचिव खनालले नेपाल लाइभसँग भने,‘समस्या भए समन्वय गरेर छिटो निर्देशन कार्यान्वायन गर्न भनेका छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।