काठमाडौं- ब्राजिल कोपा अमेरिकाको फाइनलमा पुगेको छ। चिरपरिचित प्रतिद्वन्द्वी अर्जेन्टिनालाई २-० गोलअन्तरले पराजित गर्दै ब्रजिल घरेलु मैदानमा भइरहेको कोपा अमेरिकाको फाइनल पुग्ने पहिलो टोली बनेको हो।
ब्राजिललाई जित दिलाउन गाब्रियल जिसस र रोवर्टो फिर्मिनोले गोल गरे। खेल सुरु भएको २० मिनेट भित्रै ब्राजिलले पहिलो गोल गर्न सफल भएको थियो। ब्राजिलका लागि खेलको १९औं मिनेटमा गाब्रियल जिससले पहिलो गोल गरे।
पहिलो हाफमा ब्राजिल १-० ले अघि रह्यो। अर्जेन्टिनाले गोल गर्ने प्रयास गर्दा पनि सफल भएको थिएन।

दोस्रो हाफको ७१औं मिनेटमा ब्राजिलका रोवर्टो फिर्मिनोले टोलीका लागि दोस्रो गोल थप्दै खेल आफ्नो पक्षमा पारे। घरेलु मैदानमा खेलिरहेको ब्राजिलतर्फ अर्जेन्टिनाले १४ प्रहार गर्दा २ वटा मात्र गोल पोष्ट केन्द्रित भएका थिए।
प्रतिष्पर्धात्मक रहेको खेलमा ब्राजिलले भने ४ वटा मात्रै प्रहार गर्न सकेको थियो। यद्यपि गरिएका थोरै तर निर्णायक प्रहाले गर्दा ब्राजिलले अर्जेन्टिनालाई पाखा लगाउँदै घरेलु समर्थकलाई खुसी तुल्याउन सफल भयो।
अर्जन्टिनाको जर्सीमा अधिकतम रुपमा असफल भएको ट्याग लाग्ने गरेका स्टार लियोनल मेसीले यस खेलमा पनि जादु देखाउन सकेनन्। जारी प्रतियोगितामा सम्झनलायक खेल खेल्न नसकेको अर्जेन्टिनाले आजको खेलमा सुधार गर्ने अपेक्षा गरिए पनि त्यो अफेक्षामै सीमित हुनपुग्यो।

ब्राजिल २००७ पछि कोपा अमेरिकाको उपाधि जित्ने लक्ष्यमा छ। उसले समूह चरणमा बोलिभियालाई ३-० र पेरुलाई ५-० ले पराजित गर्नुका साथै भेनुजुयलासँग भने गोलरहित बराबरी खेलेको थियो। क्वार्टरफाइनलमा पाराग्वेलाई पेनाल्टी सुटआएटमा ४-३ ले पराजित गर्दै ब्राजिल शीर्ष ४ मा उक्लिएको हो।
ब्राजिलले भोलि हुने चिली र पेरुबीचको खेलको विजेतासँग फाइनलमा खेल्नेछ। उपाधि भिडन्त भने आइतबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।