काठमाडौं- कोपा अमेरिकाको पहिलो सेमिफाइनल खेलमा ब्राजिलले दोस्रो गोल गरेको छ। चिरपरिचित प्रतिद्वन्द्वी अर्जेन्टिनाविरुद्ध खेलिरहेको ब्राजिलका रोवर्टो फिर्मिनोले खेलको ७१औं मिनेटमा गोल गर्न सफल भएका हुन्। फिर्मिनोको गोलसँगै घरेलु मैदानमा ब्राजिल २-० अघि छ।
यसअघि खेल सुरु भएको २० मिनेट भित्रै ब्राजिल पहिलो गोल गर्न सफल भएको थियो। ब्राजिलका लागि खेलको १९औं मिनेटमा गाब्रियल जिससले पहिलो गोल गरेका थिए।
ब्राजिलले पहिलो हाफको खेलमा ५२ प्रतिशत समय बललाई आफ्नो नियन्त्रणमा राख्न सफल भएको थियो। यद्यपि खेल निकै प्रतिष्पर्धात्मक बनिरहेको छ।
हालसम्म ११ सट प्रहार गरे पनि अर्जेन्टिनाका २ प्रहार मात्रै पोष्ट केन्द्रित भएका थिए। यद्यपि अर्जेन्टिना गोल गर्ने प्रयासमा छ। ब्राजिलले भने ४ प्रहार गरेकोमा २ प्रहारले जाली चुमेका थिए।
यसअघिका खेलमा भने अर्जेन्टिनाले प्रभावशाली खेल देखाउन सकेको छैन। स्टार फुटबलर लियोनल मेस्सी नेतृत्वको अर्जेन्टिनाले प्रारम्भका दुई खेलमा जित निकाल्न सकेको थिएन। पहिलो खेलमा कोलम्बियासँग २–० ले पराजित भएको थियो भने दोस्रो खेलमा पाराग्वेसँग १–१ को बराबरी। फर्काइएको गोल पनि मेसीले पेनाल्टीबाट गरेका थिए।
समूहको अन्तिम खेलमा कोपा अमेरिकाका लागि आमन्त्रित टोली कतारलाई २–० ले पराजय गरेपछि बल्ल टिम मेसी अन्तिम ८ मा पुगेको थियो। क्वार्टरफाइनलमा भेनेजुयलाविरुद्ध २–० को परिणाम हात पार्दै यो टिम शीर्ष ४ को सूचीमा दर्ज भयो। कोपा अमेरिकाको पछिल्लो ५ मध्ये ४ संस्करणको फाइनलमा पुगे पनि मेसीको टिम अर्जेन्टिनाले सन् १९९३ देखि फाइनल जितेको छैन।
यता ब्राजिल भने २००७ पछि कोपा अमेरिकाको उपाधि जित्ने लक्ष्यमा छ। उसले समूह चरणमा बोलिभियालाई ३-० र पेरुलाई ५-० ले पराजित गर्नुका साथै भेनुजुयलासँग भने गोलरहित बराबरी खेलेको थियो। क्वार्टरफाइनलमा पाराग्वेलाई पेनाल्टी सुटआएटमा ४-३ ले पराजित गर्दै ब्राजिल शीर्ष ४ मा उक्लिएको हो।
आजको खेलमा विजेता हुने टोली कोपा अमेरिकाको शीर्ष दुईमा पुग्नेछ। भोलि चिली र पेरुबीच दोस्रो सेमिफाइनल खेल हुनेछ। उपाधि भिडन्त भने आइतबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।