काठमाडौं– नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद प्रकाशमान सिंहले आफ्नो निर्वाचन खर्च सार्वजनिक गरेका छन्।
सांसद सिंहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाउँदै १७ लाख ३० हजार ५ सय रुपैयाँ खर्च भएको दाबी गरेका छन्।
सिंहले बुझाएको विवरण अनुसार सबैभन्दा बढी गोष्ठी र कार्यकर्ता परिचालनमा खर्च भएको उल्लेख गरिएको छ। यो शीर्षकमा ७ लाख खर्च भएको उनले जनाएका छन्।
त्यसपछिको खर्च सवारीसाधन परिचालनमा भएको उल्लेख छ। जसमा २ लाख ७० हजार खर्च भएको छ। सवारीसाधनको इन्धनमा ९० हजार खर्च भएको विवरणमा लेखिएको छ।
सिंहले काठमाडौं क्षेत्र नम्बर १ बाट निकटतम प्रतिद्वन्द्वी विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलाई पराजित गरेका थिए।
निर्वाचन आयोगले केही दिनअघि निर्वाचन खर्च विवरण बुझाउन प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य उम्मेदवारहरुलाई अपिल गरेको थियो।
यसअघि एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफ्नो चुनावी खर्च विवरण आयोगमा बुझाइसकेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।