काठमाडौं– एनसेलको ८० प्रतिशत सेयर बिक्री गरी लाभकर तिर्ने दायित्व आफ्नो नभएको भन्दै भागेको स्विडेनको कम्पनी टेलियासोनेराको नाममा सूचना जारी गरेको छ।
सर्वोच्च अदालतले सेयर बिक्रीमा लाग्ने लाभकरको दायित्व एनसेलको नभएको आदेश गरेलगत्तै करदाता कार्यालयले सूचना निकालेको हो।
ठूला करदाता कार्यालय ललितपुरले बुधबार सूचना प्रकाशित गर्दै करिब ६० अर्ब रुपैयाँ १५ दिनभित्र जम्मा गर्न भनेको हो। सूचनामा सेयर खरिद–बिक्रीवापत सरकारले टेलियाबाट ६५ अर्ब ४० करोड ३१ लाख ६० हजार १ सय ८० रुपैयाँ कर पाउनुपर्ने उल्लेख छ।
टेलियाले करवापत ६० अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रुपैयाँ बुझाउनुपर्ने त्यसमा ब्याज र हर्जाना गरी ५ अर्ब थप भएको ठूला करदाता कार्यालयले जनाएको छ। तिर्नुपर्ने रकमको विषयमा यसअघि नै सूचना जारी गरे पनि टेलियाले रकम भुक्तानी नगरेपछि करको मूल्य बढेर ६५ अर्ब ४० करोड ३१ लाख ६० हजार १ सय ८० पुगेको कार्यालयको दाबी छ।
टेलिया कम्पनीले ०७२ चैत १९ मा मलेसियाको एक्जियटा कम्पनीलाई आफूसँग भएको सबै ८० प्रतिशित सेयर बिक्री गरेको थियो।
सर्वोच्च अदालतले गत पुस १० गते एनसेलको ८० प्रतिशत सेयर बिक्रीमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान नेपाल राष्ट्र बैंकले लगाएको प्रतिबन्ध खुला गर्न अन्तरिम आदेश जारी गरेको थियो।
सरकारलाई तिर्नुपर्ने करको दायित्व चुक्ता नभएसम्म लाभांश फिर्ता लैजान नमिल्ने भन्दै राष्ट्र बैंकको विनिमय व्यवस्थापन विभागले गत २६ असारमा रोक लगाएको थियो। उक्त रोक कानुन विपरीत भएको ठहर गर्दै न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासले खुला गरिदिएको थियो।
सर्वोच्चले कर तिर्ने दायित्व बिक्री गर्ने कम्पनीकै हुने भनी व्याख्या समेत गरेको थियो। सर्वोच्चको उक्त आदेशलाई आधार बनाएर ठूला करदाता कार्यालयले नयाँ सूचना जारी गरेको हो।
आफ्नो सेयर एक्जियटालाई बिक्री गरेपछि सरकारलाई बुझाउनुपर्ने करको विषयमा विवाद भएपछि ०७३ फागुन २५ मा तत्कालीन मन्त्रिपरिषद्ले लाभकर तिर्ने दायित्व टेलियाको भएकाले असुल गरिने निर्णय गरेको थियो। तर, त्यस लगत्तै फागुन २८ मा टेलियासेनोराले आधिकारिक धारणा सार्वजनिक गर्दै कर तिर्ने दायित्व आफ्नो नभएको बताएको थियो।
टेलियाले मन्त्रिपरिषद्को निर्णयलाई चुनौती दिँदै नेपाल सरकारले आफूसँग लाभकर माग्ने कानुनी आधार नभएको भन्दै कर नतिर्ने अडान लिँदै आएको थियो। यहीबीचमा ठूला करदाता कार्यालयले कर बुझाउन सूचना जारी गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।