काठमाडौं– ठगी गरेको आरोपमा प्रहरीले सत्यमान लामालाई पक्राउ गरेको छ। उनलाई काठमाडौंको जडिबुटीबाट मंगलबार पक्रेको हो। महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
स्थायी ठेगाना काभ्रे भएका सत्यमानले ‘क’ वर्गको सूचीका डन दाबा लामाको उत्तराधिकारीका रुपमा काम गर्दै आएको प्रहरीले दाबी गरेको छ।
काभ्रेको तिमाल गाउँपालिका–५ नारायणस्थानमा ‘भूकम्प पीडितको नाममा अस्पताल बनाउँछु’भन्दै उनले एक करोड ७५ लाख रुपैयाँ ठगी गरेको जाहेरी परेपछि पक्राउ गरिएको प्रहरीले बताएको छ।
०७२ सालको भूकम्पपछि २५ शय्याको अस्पताल बनाउने भन्दै रकम लिएका थिए।
काभ्रे र रामेछापमा पाइने बुद्धचित्त मालाको तस्करीमा संलग्न रहेको आरोप समेत उनीमाथि लागेको छ। यसअघि रक्तचन्दन तस्करीमा पनि प्रहरीले उनलाई पक्राउ गरेर काराबाही गरेको थियो।
सत्यमानले बुढानीलकण्ठका दिलीप लामाको २५ लाख रुपैयाँको चेक धाकधम्की दिएर लुटेको आरोप पनि छ।
सत्यमानका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।