विराटनगर– नेपाली कांग्रेसको नेता शेखर कोइरालाले आगामी पार्टी नेतृत्वका लागि आफ्नो दाबी पेश गरेका छन्।
बुधबार बिहान विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार भेटघाटमा कोइरालाले कांग्रेसको आगामी नेतृत्वका लागि आफू तयार भएको दाबी गरे।
‘पार्टी नेतृत्व लिन म लायक भइसकेको छु। पदीय जिम्मेवारी लिएर अब अघि बढ्न तयार छु,’ उनले भने, ‘पार्टी कार्यकताको भावना बुझ्न म चाँडै देश दौडाहामा निस्कँदैछु।’
शेखरले तत्काल केन्द्रीय कार्यसमिति बैठक बोलाएर निर्वाचनको समीक्षालगायत पार्टीको सांगठनिक संरचनाको सुधार गर्नुपर्नेमा जोड दिएका छन्। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस केन्द्रीय सदस्य कोइराला एमाले नेता लालबाबु पण्डितसँग पराजित भएका थिए।
तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधनपछि कांग्रेसभित्र कोइराला विरासतबाट कसले नेतृत्व गर्ने भन्नेमा विवाद छ। शेखरले अगाडि बढ्ने इच्छा देखाए पनि अघिल्लो महाधिवेशनमा शशांक कोइराला पार्टीको महामन्त्रीमा निर्वाचित भएका थिए।
केही समयअघि मात्र शशांक निवासमा भएको भेटमा शेखर र सुजाता कोइरालाले मिलेर अगाडि बढ्ने सहमति गर्दै संयुक्त फोटो खिचाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।