काठमाडौं- प्रतिनिधिसभाका सांसदले प्रदेश प्रहरीलाई आवश्यक पर्ने प्रहरीको व्यवस्थापन नेपाल प्रहरीले गर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
मंगलबार संघीय संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा छलफल गर्दै समितिका सदस्य यस्तो बताएका हुन्।
समिति सदस्य रामसहाय प्रसाद यादवले प्रदेश प्रहरीलाई आवश्यक पर्ने प्रहरीको व्यवस्थापन नेपाल प्रहरीले गर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरे। उनले त्यसका लागि नेपाल प्रहरीमा पुल दरबन्दीको व्यवस्था गर्न उपयुक्त हुने प्रस्ताव पनि अघि सारे।
सांसद यादवले प्रदेश लोक सेवा आयोगको गठन समेत नभएकाले पनि आवश्यक परेका बेला प्रदेश प्रहरीलाई नेपाल प्रहरीले आवश्यक कर्मचारीको व्यवस्था गर्नुपर्ने तर्क पनि गरे।
समितिका अर्का सदस्य राजकिशोर यादवले प्रदेश सरकारले नै प्रदेश मातहतका सबै निकायमा प्रहरी परिचालन गर्ने व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए। संविधानले प्रहरी चौकीको समेत कर्मचारी व्यवस्थापनको काम प्रदेश प्रहरीले गर्ने व्यवस्था गरेको उनको भनाइ थियो।
यादवले प्रहरी सेवामा रहेका दम्पत्तिलाई पायक पर्ने गरी सरुवाको व्यवस्था गर्नुपर्ने सरकारको प्रस्ताव उचित भएको पनि बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।