काठमाडौं– नयाँ सरकार गठनअघि नै नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकीकरण प्रक्रियालाई टुंगोमा पुर्याउने गरी तयारी थालेका छन्।
राष्ट्रियसभाको निर्वाचन र प्रतिनिधिसभाको समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक गर्न माघ मसान्त लाग्ने देखिएपछि नयाँ सरकार गठनअघि नै पार्टी एकीकरण टुंग्याउने गरी दुवै दलका शीर्ष नेताले तयारी थालेका हुन्।
मंगलबार माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल निवास ललितपुरको खुमलटारमा सम्पन्न पार्टीको केन्द्रीय सचिवालय बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले आश्चार्यजनक तरिकाले छिट्टै दुवै पार्टी एकीकरण हुने दाबी गरिन्।
पार्टी एकता संयोजन समितिको औपचारिक बैठक नबसे पनि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नियमित सम्पर्कमा छन्। दुवै पार्टीका शीर्ष नेताले पार्टी एकताको विविधि पक्षमा केन्द्रित रहेर आन्तरिक छलफल गरिरहेका छन्।
वाम गठबन्धन भत्काउन वाह्य शक्ति र सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले समेत प्रयास गरिरहेको सन्र्दभमा एमाले र माओवादीले तत्काल पार्टी एकीकरणलाई टुंगोमा पुर्याएर नयाँ सरकार गठनमा केन्द्रित हुने तयारी थालेका हुन्।
माओवादी केन्द्रका नेता मणि थापाले नयाँ सरकार गठनमा ढिलाइ हुने देखिएकाले त्यसअघि नै एकीकरण प्रक्रियाले पूर्णता पाउने बताए।
‘दुवै पार्टीबीच एकीकरणका विषयमा कुनै मतान्तर छैन,’ थापाले नेपाल लाईभसँग भने, ‘नयाँ सरकार गठन अघि नै पार्टी एकताले पूर्णता पाउँछ।’
मंगलबारको सचिवालय बैठकमा माओवादी केन्द्रका अध्यक्ष दाहालले पार्टी एकतामा भइरहेको प्रगति र नयाँ सरकार गठनका विषयमा ‘ब्रिफिङ’ गरेका थिए।
माओवादी केन्द्रका नेता दिनानाथ शर्माका अनुसार दुई पार्टीबीच कुनै सैद्वान्तिक मतभेद नरहेकाले पार्टी एकीकरणका लागि दुवै दलका नेता सहमत रहेको बताए।
वैचारिक र सैद्वान्तिक विषय मिलाउन तथा सांगठनिक व्यवस्थापनका लागि दुवै दलबाट प्रतिनिधित्व रहने गरी दुई वटा कार्यदल गठन गर्ने तयारी भइरहेको छ।
स्रोतका अनुसार माओवादी अध्यक्ष दाहालले पार्टी र सरकारको नेतृत्वमध्ये एक छान्न एमाले अध्यक्ष केपी ओलीलाई प्रस्ताव गरेका छन्।
चुनावअघि आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भए पनि पार्टी एकीकरणपछि एकै व्यक्तिले पूरा कार्यकाल ५ वर्ष सरकार चलाउने विषयमा समेत माओवादी केन्द्रका अध्यक्ष दाहाल सहमत छन्।
‘सिएम (पार्टी चेयर मेन) वा पिएम (प्रधानमन्त्री), एक रोज्न अध्यक्ष दाहालले ओलीलाई प्रस्ताव गर्नुभएको छ,’ स्रोतले भन्यो, ‘दुवै दलका शीर्ष नेताले कार्यकारी भूमिका निभाउने गरी पार्टी एकीकरणको तयारी भइरहेको छ।’
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आगामी सरकारको नेतृत्व ५ वर्षका लागि एमाले अध्यक्ष ओलीलाई छाड्न सहमत छन्। तर, पार्टीको नेतृत्व आफूले गर्न पाउनुपर्ने उनको प्रस्ताव छ।
पार्टी एकीकरणका विषयमा निर्णायक छलफलका लागि माओवादी केन्द्रको मंगलबारको सचिवालय बैठकले पार्टी अध्यक्ष दाहाललाई अख्तियारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।