काठमाडौं– माओवादी केन्द्रले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कम्तीमा पनि १६ जिल्लामा अन्तर्घात भएको निष्कर्ष निकालेको छ।
एमालेसँग गठबन्धन गरेर निर्वाचनमा जाँदा समेत आफ्नै पार्टीभित्र अन्तर्घात भएर पार्टीले उठाएका उम्मेदवार पराजित भएको निष्कर्षसहित केन्द्रीय कार्यालय समिति बैठकले छानबिन समिति बनाएको छ। माओवादीले अन्तर्घात एमालेबाट मात्रै नभई आफ्नै पार्टीका नेताबाट समेत भएको प्रारम्भिक निष्कर्ष निकालेको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले बताइन्।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमालेका ६० र माओवादी केन्द्रका ४० प्रतिशत उम्मेदवार चुनावी मैदानमा उत्रेका थिए।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको बैठकमा अन्तर्घात भएको ठहरसहित नेता अमिक शेरचनको नेतृत्वमा छानबिन समिति बनाइएको हो। छानबिन समितिमा पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, गणेश शाह, हितराज पाण्डे र रेखा शर्मा सदस्य छन्।
पराजित भएका उम्मेदवारहरुले नै पार्टीभित्र अन्र्तघात भएको उजुरी गरेपछि छानबिन समिति निर्माण गरिएको प्रवक्ता भुसालले बताइन्।
गोरखा, पर्सा, सिरहा, धनुषा, कैलाली, कञ्चनपुर, दैलेख, खोटाङ, पाँचथर, सल्यान, हुम्ला लगायत १६ भन्दा बढी जिल्लाका उमेदवारहरुले आफ्नै स्थानीय नेता–कार्यकर्ताले अन्तर्घात गर्दा पराजित भएको उजुरी गरेका छन्। गोरखाका दुई क्षेत्रमध्ये माओवादी उम्मेदवार एकमा विजयी र एकमा पराजित भएका थिए। प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नारायणकाजी श्रेष्ठ नयाँशक्तिका संयोजक बाबुराम भट्टराईसँग पराजित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।