काठमाडौं– माओवादी केन्द्रका नेताहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा एमालेसँग पार्टी एकता गर्दा अध्यक्ष पाउनुपर्ने दबाब दिएका छन्।
खुमलटारस्थित प्रचण्ड निवासमा बसेको पार्टी केन्द्रीय कार्यालय समितिको बैठकमा बोल्ने अधिकांश नेताले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने भएकाले माओवादी केन्द्रले बिनाशर्त एकतापछि पार्टीको नेतृत्व पाउनुपर्ने धारणा राखेका थिए।
पार्टी एकताको धारणा बनाउन बसेको माओवादी केन्द्रको बैठकमा नेताहरुले पार्टीको कार्यकारी पद नपाए एकीरण गर्नुको अर्थ नहुने भएकाले अध्यक्षको दाबी गर्ने निर्णय गरेको नेता देवेन्द्र पौडेलले बताए।
चुनावी परिणामले दुवै दल मिलेर नयाँ वामपार्टी बन्नुपर्ने जनमत पाएको तर त्यही आधारमा एमालेको पछि लागेर मात्र नयाँ पार्टी गठन गर्न नहुनेतर्फ नेताहरुले अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराएका थिए।
बैठकले एमालेसँग पार्टी एकीरणका लागि अन्तिम तथा निर्णायक छलफल गर्ने निर्णय पनि गरेको छ। सरकार गठनअघि नै पार्टी एकताको प्रक्रिया मिलाउन जोड दिने बैठकले निर्णय गरेको छ।
माओवादी केन्द्रीय कार्यालय समितिको बैठकले नयाँ सरकार गठनका लागि बाटो खोलिदिन शेरबहादुर देउवा नेतृत्वको सरकारलाई आग्रह गरेको छ। बैठकले राष्ट्रियसभा निर्वाचनको मिति तत्काल तोक्न पनि सरकारसँग माग गरेको छ।
बैठकले अन्य पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेका नेतालाई जिम्मेवारी दिन नेता रामबहादुर थापा बादलको नेतृत्वमा एक समिति गठन गरेको छ।
निर्वाचनमा भएका अन्तर्घातबारे छानबिन गर्ने निर्णय पनि बैठकले गरेको छ। माओवादीले प्रतिनिधिसभा निर्वाचनमा केही जिल्लामा एमालेसँगको गठबन्धन हुदाँ समेत आफ्ना उम्मेदवार पराजित भएकोमा छानबिन गर्न समिति गठन गर्न लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।