काठमाडौं- विश्वकप क्रिकेटमा भारतको अपराजित यात्रा टुंगिएको छ। आइसिसी विश्वकप क्रिकेटअन्तर्गत आइतबार बिर्मिंघममा भएको खेलमा आयोजक इंग्ल्यान्ड विजयी भएसँगै भारतको अपराजित यात्रामा विराम लागेको हो।
अनिवार्य जितसहित मैदानमा उत्रिएको इंग्ल्यान्डले भारतमाथि ३१ रनको जित निकालेको हो। यसले आयोजक टोलीलाई सेमिफाइनलमा पुग्न सम्भावना कायम राखेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले जोनी बेयरस्टोको शतकीय पारीको मद्दतमा ३ सय ३७ रनको बलियो योगफल खडा गरेको थियो। १ सय ९ बलको सामना गरेका जोनीले १० चौका र ६ छक्काको मद्दतमा १ सय ११ रनको पारी खेले।

इंग्ल्यान्डका बेन स्टोक्सले ७९, जसोन रोयले ६६ र जोय रुटले ४४ रन बनाए। शानदार सुरुवात गर्दै जोनी र जसोनले पहिलो विकेटका लागि १ सय ६० रनको साझेदारी गरेपछि इंग्ल्यान्ड बलियो लक्षतर्फ अघि बढेको थियो।
भारतका तर्फबाट मोहम्मद सामी एक्लैले ५ विकेट लिए। योसँगै जारी प्रतियोगितामा उनको विकेट संख्या १३ पुगेको छ।

जसप्रित बुम्राह र कुलदिप यादवको नाममा समन १/१ विकेट रह्यो।
३ सय ३८ रन पछ्याएको भारतको भने सुरुवात राम्रो हुन सकेन। प्रारम्भिक ब्याट्सम्यान केएल राहुल खाता नै नखोली आउट भए। तर, अर्का प्रारम्भिक ब्याट्सम्यान रोहित शर्मा र कप्तान विराट कोहलीले दोस्रो विकेटका लागि १ सय ३८ रनको साझेदारी गर्दै भारतलाई बलियो स्थितिमा पुर्याएका थिए। रोहितले १ सय २ रनको पारी खेले पनि उनको शतकले टोलीलाई जित भने दिलाउन सकेन। शतक प्रहार गर्न उनले १५ चौका हिर्काएका थिए।

विराटले ६६ रनको योगदान दिए। जारी प्रतियोगितामा यो उनको पाँचौं अर्धशतक हो। रिसभ पन्तले ३२ तथा हार्दिक पान्ड्याले ४५ रनको पारी खेल्दै भारतको पारीलाई लक्षतर्फ उन्मुख गराएका थिए। महेन्द्र सिंह धोनीले अविजित ४२ रन बनाए पनि स्लग ओभरमा इंग्ल्यान्डका बलरहरुले किफायती बलिङ गर्दा भारतले जितको स्वाद चाख्न नपाएको हो।
निर्धारित ५० ओभरमा भारतले ज विकेटको क्षतिमा ३ सय ६ रन मात्र जोड्न सकेपछि इंग्ल्यान्डलाई सेमिफाइनल पुग्ने सम्भावना जीवितै रहेको हो।
.jpg)
इंग्ल्यान्डका तर्फबाट लियाम प्लुंकेटले ३ तथा क्रिक्स वेक्सले २ विकेट हात पारे।
जितसँगै इंग्ल्यान्ड पाकिस्तानलाई पछि पार्दै अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ। उसको ८ खेलबाट १० अंक भएको छ। समान खेल खेलेको पाकिस्तानको भने ९ अंक मात्र बाँकी छ।
अब इंग्ल्यान्डले न्युजिल्यान्ड तथा पाकिस्तानले बंगलादेशको सामना गर्नेछ। शीर्ष ४ मा पुग्न यी दुवै खेलमा दुवै टोलीलाई स्पष्ट जितको आवश्यकता देखिन्छ।
उता भारत भने यथास्थानमा छ। उसले अब श्रीलंका र बंगलादेशसँग खेल्न बाँकी छ। सेमिफाइनल पुग्न उसलाई कम्तिमा बराबरी मात्र आवश्यक छ।

अष्ट्रेलिया १४ अंकसहित पहिलो तथा न्युजिल्यान्ड ११ अंकसहित तेस्रो स्थानमा छन्।
यस अलावा बंगलादेश र श्रीलंकाको पनि सेमिफाइनल पुग्ने सम्भावना कायम छ। आफ्ना बाँकी रहेका खेलमा स्पष्ट जित हात पार्नुका अलावा बाँकी टोलीको पनि खेलका आधारमा उनीहहरुको सेमिफाइनल यात्रा तय हुनेछ।
अफगानिस्तान, दक्षिण अफ्रिका र वेस्ट विन्डिज शीर्ष ४ को दौडबाट बाहिरिइसकेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।