काठमाडौं- नेपाली कांग्रेसले प्रदेश प्रमुखको नियुक्ति तथा राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने विषयमा सर्वदलीय छलफल गर्ने निर्णय गरेको छ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेसका शीर्ष नेताको बैठकले चुनावको मिति तथा प्रदेश प्रमुखको नियुक्तिको विषयमा ५ वटै राष्ट्रिय दलसँग छलफल गर्ने निर्णय गरेको हो।
राष्ट्रियसभाको निर्वाचन गर्न आवश्यक वातावरण बनाउने सम्बन्धमा अन्यदलसँग समेत समझदारी गर्ने विषयमा छलफल भएको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल लाइभलाई बताए।
सरकारको नेतृत्वकर्ता समेत रहेको कांग्रेसले राष्ट्रियसभाको निर्वाचनपछि नयाँ सरकार गठनको मार्ग प्रसस्त गर्ने बताउँदै आएको छ।
नेकपा एमाले र माओवादी केन्द्र भने वर्तमान सरकारले बाहानाबाजी गरेर सत्ता लम्ब्याउन खोजेको आरोप लगाउँदै आएका छन्।
सोमबार एमाले र माओवादी केन्द्रका नेताले निर्वाचन आयोग पुगेर राष्ट्रियसभाको निर्वाचन गर्न तथा प्रदेश प्रमुख नियुक्तिमा सरकारले चासो नदेखाएको भन्दै त्यसमा पहल गर्न आग्रह गरेका थिए। लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार बिहान नेता पौडेलसहित महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलालाई छलफल गर्न बालुवाटार बोलाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।