एजेन्सी– अफगानिस्तानका रसिद खान सन् २०१७ मा टी–२० क्रिकेटमा सबैभन्दा बढी विकेट लिएका छन्।
रसिदले वर्षभरी खेलिएका टी–२० लिग र देशका लागि गरी ८० विकेट लिन सफल भए। वर्षभरमा उनले ५६ खेल खेल्दै ८० विकेट लिएका हुन्।
रसिदले सन् २०१७ मा अफगानिस्तानको राष्ट्रिय टिम सहित अस्ट्रेलियाको एडिलेड स्ट्राइकर, अफगानिस्तानको बान्ड इ अमिर ड्रागन, बंगलादेशको कोमिला भिक्टोरियन्स, वेस्ट इन्डिजको गुयना अमाजोन वरियर्स र भारतको सनराइजर्स हैदरावादबाट टी–२० क्रिकेट खेलेका थिए।
सन् २०१७ मा टी–२० क्रिकेटमा बढी विकेट लिने खेलाडीको दोस्रो स्थानमा वेस्ट इन्डिजका सुनील नारिन रहे। उनले वेस्ट इन्डिजको राष्ट्रिय टिम र क्लबका लागि ६४ खेलमा ६२ विकेट लिए। उनले गत वर्ष ढाका डाइनामिटर, कोलकता नाइटराइडर्स, लाहोर क्वालान्डर्स, मेलवर्न रेनेगेड्स र ट्रिनबागो नाइट राइडर्सबाट टी–२० खेल खेले।
टी–२० मा बढी विकेट लिने खेलाडीको तेस्रो स्थानमा दक्षिण अफ्रिकाका इमरान ताहिर छन्। उनले सन् २०१७ मा ५५ विकेट लिए। ४३ खेलमा ४० इनिङ बलिङ गरेका उनले वर्षमा दक्षिण अफ्रिकासहित डर्बीश्रीन, डल्फिन्स, राइजिङ पुने सुपर जाइन्ट र विश्व ११ बाट खेले।
चौथो स्थानमा रहेका पाकिस्तानका सादब खानले ३५ खेलमा ४६ विकेट तथा पाँचौ स्थानमा रहेका पाकिस्तानकै हसन अलीले पनि ४६ विकेट नै लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।