बार्सिलोना– अंग्रेजी नयाँ वर्षको अवसरमा स्पेनिस क्लब रियल म्याड्रिडका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो जन्मस्थान पुगेका छन्।
जन्मस्थान पुगेर रोनाल्डोले खेल जीवनभर जितेका ट्रफीको साथमा फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। रोनाल्डोले अहिलेसम्म जितेका १५ ट्रफीको आगाडि राखेर फोटो सेसन गराएका हुन्।
यता अर्को स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टाइन स्टार लिओनल मेसीले भने श्रीमतीसँग नयाँ वर्ष मनाएका छन्। श्रीमती एन्टोनेला रोकुजोसँग पोज दिँदै गरेको तस्बिर मेसीले सार्वजनिक गरेका छन्।

सन् २०१७ मा रोनाल्डोले पाँचौ पटक फिफा वर्ष खेलाडीको अवार्ड जित्दै मेसीको कीर्तिमानसँग बराबरी गरेका थिए।
यो सिजन भने मेसी उत्कृष्ट लयमा देखिएका छन्। मेसीले सिजनमा देश र क्लबका लागि २९ खेल खेल्दै २२ गोल गरिसकेका छन्। पछिल्लो पटक रोनाल्डोको रियल म्याड्रिडलाई ३–० ले पराजित गर्ने क्रममा मेसीले पनि १ गोल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।