बार्सिलोना– बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लिओनल मेसीले क्लबका लागि धेरै रेकर्ड बनाएका छन्। ला लिगा र बार्सिलोनाका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी रेकर्ड बनाएका मेसीका लागि सन् २०१८ मा ७ अवसर हुनेछन्। ती ७ अवसरलाई सदुपयोग गर्न मेसीले रेकर्ड बनाउने पक्का छ।
१. सन् २०१८ मा मेसीका लागि युइएफएको प्रतियोगितामा सय गोलको कोशेढुंगा पार गर्ने अवसर छ। च्याम्पियन्स र सुपर कप गरी मेसीले अहिलेसम्म ९७ गोल गरिसकेका छन्। यो सिजनको च्याम्पियन्स लिगको अन्तिम १६ मा बार्सिलोनाले चेल्सीसँग २० फेब्रुअरी र १४ मार्चमा प्रतिस्पर्धा गर्दैछ। जहाँ मेसीलाई सय गोल पूरा गर्ने अवसर छ।
२. च्याम्पियन्स लिगको अन्तिम १६ मा चेल्सीविरुद्ध गोल गर्न सके मेसीले अर्को रेकर्ड बनाउने छन्। मेसीले पहिलोपटक चेल्सीविरुद्ध गोल गरेर रेकर्ड बनाउने छन्। यसअघि चेल्सी विरुद्ध ८ पटक प्रतिस्पर्धा गर्दा पनि मेसीले गोल गर्न सकेका थिएनन्। ८ पटक प्रतिस्पर्धा गरेर पनि मेसीले गोल गर्न नसकेको चेल्सी पहिलो क्लब हो।
३. मेसी, जेरार्ड पिके र आन्द्रेस इनिष्टाले चार पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि उचालेका छन्। बार्सिलोनाले सन् २००६, २००९, २०११ र २०१५ मा च्याम्पियन्स लिगको उपाधि जित्दा तीनै खेलाडीले महत्वपूर्ण योगदान दिएका थिए। युक्रेनको किभमा हुने यो सिजनको युरोपियन च्याम्पियन्स लिगको उपाधि जिते बार्सिलोनाले तीनै जनाले पाँच पटक ट्रफी उचालेर कीर्तिमान बनाउनेछन्।
४. लिओनल मेसीले ला लिगामा ३ सय ९९ खेल खेल्दै ३ सय १ खेल जितेका छन्। सन् २०१८ मा ३३ खेल जित्न सके मेसीले ला लिगामा बढी लिग खेल जित्ने कीर्तिमान बनाउनेछन्। ला लिगामा बढी खेल जित्ने कीर्तिमान रियल म्याड्रिडका पूर्व गोलकिपर इकार कासिलासको नाममा छ। उनले सन् ३ सय ३४ खेलमा जित हात पारेका छन्।
५. मेसीलाई सन् २०१८ मा युरोपियन गोल्डेन बुट जित्ने अवसर छ। चार पटक पुरस्कार हात पारिसकेका मेसीले सिजनमा १५ गोल गरिसकेका छन्।
६. मेसीलाई युरोपमा पाँच ठुला लिगमा बढी गोल गर्ने रेकर्ड बनाउने अवसर पनि छ। १९६० को दशकमा जिमी ग्रेइभ्सले इंग्ल्यान्ड र जर्मन लिगमा गरी ३ सय ६६ गोल गरेका थिए । मेसी मात्र २ गोलले टाढा छन्। मेसीले ला लिगामा गोल संख्या ३ सय ६४ पुर्याइसकेका छन्।
७. मेसीले स्पेनको पहिलो डिभिजनको एक क्लब विरुद्ध मात्र गोल गर्न सकेका छैनन्। मेसीले गोल गर्न सकेको क्लब गिरोना हो। यो सिजनको दोस्रो लेगमा गिरोना बिरुद्ध गोल गरे मेसीले ला लिगामा ३६औं क्लब विरुद्ध गोल गर्नेछन् र रियल म्याड्रिडका राउलको रेकर्डसँग बराबरी गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।