काठमाडौं- मिचेल स्टार्क चम्किएपछि न्युजिल्यान्डमाथि अष्ट्रेलियाले प्रभावशाली जित निकालेको छ।
इंग्ल्यान्डमा जारी १२औं विश्वकप क्रिकेटमा शनिबार भएको खेलमा न्युजिल्यान्ड ८६ रनले पराजित भएको हो।

टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले उस्मान खवाजाको ८८ र एलेक्स क्यारीको ७१ रनको मद्दमा २ सय ४३ रनको सामान्य योगफल तयार गरेको थियो। अष्ट्रेलियाका ६ ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। ३ ब्याट्सम्यानले खाता पनि खोल्न सकेका थिएनन्।
अष्ट्रेलियामाथि कसिलो बलिङ गर्ने क्रममा ट्रेन्ट बोल्ट एक्लेले ह्याट्रिकसहित ४ विकेट लिए। विश्वकपमा ह्याट्रिक विकेट लिने उनी पहिलो न्युजिल्यान्डका बलर बनेका छन्। जारी विश्वकपमा ह्याट्रिक विकेट लिने उनी दोस्रो खेलाडी हुन्। यसअघि भारतका मोहम्मद सामीले लगातार ३ विकेट लिएका थिए।
विश्वकप इतिहासमा भने ह्याट्रिक विकेट लिने उनी ११औं खेलाडी हुन्।

२ सय ४४ रनको सामान्य लक्ष पछ्याए पनि न्युजिल्यान्डका कुनै पनि ब्याट्सम्यानले ४० को आँकडा पार गर्न सकेनन्। कप्तान केन विलियम्सनले ४० तथा रोस टेलरले ३० रन बनाउनु बाहेर अन्य कुनै पनि ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गरेनन्।
न्युजिल्यान्डका पनि ६ जना ब्याट्सम्यानले दोहोरो आँकडा छुन सकेनन्।

न्युजिल्यान्डलाई दबाबमा राख्ने क्रममा मिचेल स्टार्कले ५ विकेट हात पारे। सो क्रममा उनले ९.४ ओभरमा एक मेडन राख्दै २६ रन खर्चिएका थिए। जारी विश्वकपका ८ इनिङमा २४ विकेट हात पार्दै उनी सबैभन्दा बढी विकेट लिने सूचीको पहिलो स्थानमा छन्।
यस खेलको नतिजाले अंकतालिकामा दुवै टोलीको स्थानमा भने परिवर्तिन भएको छैन। एक खेल खेल्न बाँकी रहँदा अष्ट्रेलिया १४ अंकसहित शीर्ष स्थानमा छ। अष्ट्रेलिया यसअघि नै सेमिफाइनल पुगिसकेको छ।उता न्युजिल्यान्ड भने ८ खेलमा ५ मा जित हात पार्दै ११ अंकसहित तेस्रो स्थानमा छ। न्युजिल्यान्डलाई सेमिफाइनल पुग्न कम्तीमा बराबरी आवश्यक छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।