काठमाडौं– अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) बाट फुटबल गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्धमा परेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापा आफ्ना विश्वासपात्रलाई एन्फामा भित्र्याउन सक्रिय बनेका छन्।
थापाले एन्फाको जिल्ला निर्वाचनमा आफू निकटका व्यक्तिलाई जिताउन खुलेआम लबिङ गरिरहेका हुन्।
पछिल्लो पटक थापाले सोमबार हुने रुपन्देही जिल्ला फुटबल संघको निर्वाचनमा सक्रियता देखाएका छन्। रुपन्देहीमा उनले आफू निकट ऋषि ज्ञवालीलाई जिताउन जिल्लाका प्रतिनिधिहरुलाई तारन्तार फोन गरिरहेको रुपन्देहीका एक प्रतिनिधिले भने। जिल्ला फुटबल संघ रुपन्देहीका जिल्ला अध्यक्ष कुमार केसीको विपक्षमा लाग्नसमेत थापाले दबाब दिएको उनले बताए।
केसी थापाले एन्फामा भ्रष्टाचार गरेको भन्दै आवाज उठाउने मध्येका एक हुन्।
थापालाई दुई वर्षअघि फिफाले लाखौं डलर घुस लिएको ठहर गर्दै फुटबल गतिविधिमा संग्लन हुन नपाउने गरी १० वर्षको प्रतिबन्ध तथा २१ लाख रुपैयाँ जरिवाना गरेको थियो। फिफाको स्वतन्त्र आचार समितिअन्तर्गत न्यायिक निकायको बैठकले थापाले सन् २००९ र २०११ मा भएको फिफाको कार्यकारी समितिको निर्वाचनका क्रममा घुस लिएको ठहर गर्दै फुटबलका गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको थियो।
'गणेश थापाले क्लबका प्रतिनिधि साथीलाई बारम्बार फोन गरेर दबाब दिरहनु भएको छ। प्रतिनिधि साथीहरुले गुनासो पोखिरहनु भएको छ,' रुपेन्देही जिल्ला फुटबल संघका अध्यक्ष कुमार केसीले नेपाल लाइभसँग भने, 'प्रतिबन्धित व्यक्तिले यसरी लबिङ गर्दा राम्रो सन्देश जाँदैन। यो सरासर फिफाको निर्णय विपरीतको काम हो।'
आगामी १४ चैतमा हुने एन्फाको कार्यसमिति निर्वाचनअघि पुस ५ देखि माघ ५ सम्म जिल्ला फुटबल संघको निर्वाचन तोकिएको छ। त्यस क्रममा प्रतिबन्धित थापा सक्रिय बनेका हुन्।
एन्फामा करोडौं भ्रष्टाचार भएको भन्दै तत्कालीन उपाध्यक्ष कर्माछिरिङ शेर्पासहितले २०७१ मा घोषणा गरेको आन्दोलनमा समर्थन जनाउने मध्येमा केसी पनि थिए। आन्दोलनपछि संसदको लेखा समितिले एन्फामा ५८ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो। तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा तामेलीमा राखेको थियो।
अख्तियारले मुद्दालाई तामेलीमा राखे पनि फिफाले प्रतिबन्ध लगाएपछि थापा २१ वर्षपछि एन्फा नेतृत्व त्याग्न बाध्य भएका थिए।
फिफाको प्रतिबन्धमा परे पनि थापा फुटबलमा आफ्नो प्रभाव जमाउन भने सफल भइरहेका छन्। गत वर्ष भएको एन्फा अध्यक्ष र उपाध्यक्ष निर्वाचनमा थापाले आफ्ना निकट नरेन्द्रलाल श्रेष्ठलाई जिताएका थिए। एन्फा शुद्धीकरण अभियानमा लागेका तत्कालीन उपाध्यक्ष कर्माछिरिङ शेर्पा श्रेष्ठसँग पराजित भएका थिए। यस्तै उपाध्यक्षमा मणि कुँवर विजयी हुँदा शेर्पा समूहका दीपक खाती हारेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।