बाबियाचौर- म्याग्दीको धौलागिरि गाउँपालिका– ५ मल्कबाङ्गका बासिन्दाको पहलमा कल्भर्ट पुल निर्माण भएको छ।
स्थानीय जनजागृति मावि नजिकै रहेको स्कुलको खोल्सामा कल्भर्ट पुल निर्माण भएको हो। स्थानीयवासीको सक्रियतामा ७ मिटर लम्बाइ र डेढ मिटर चौडाइ भएको ढलान गरिएको पक्की कल्भर्ट पुल निर्माण भएको छ। मल्कबाङ्गका बासिन्दा र धौलागिरि गाउँपालिकाको आर्थिक सहयोगमा पुल निर्माण भएको कल्भर्ट पुल निर्माण योजनाका अगुवा रविन्स छन्त्यालले जानकारी दिए।
धौलागिरि गाउँपालिकाले रु एक लाख अनुदान उपलब्ध गराएको उक्त योजनाका लागि छन्त्यालले कतारमा रहँदा आर्थिक संकलन अभियान सञ्चालन गरेका थिए। उक्त अभियानबाट रु ६ लाख जुटाइएको थियो। अभियानमा स्वदेशमै रहेका मल्कबाङ्गका बासिन्दा र विदेशमा देशका अन्य जिल्लावासीले समेत सहयोग गरेका थिए।
हाल पोखरा निवासी भीमबहादुर छन्त्यालको परिवारले सबैभन्दा बढी रु ६० हजार सहयोग गरेको थियो। गत कात्तिक दोस्रो हप्तादेखि पुल निर्माण सुरुभएको थियो। कल्भर्ट पुल निर्माण भएपछि स्थानीयवासी, विद्यार्थी र शिक्षक शिक्षिकालाई गाउँदेखि आवतजावत गर्न सहज भएको छ। यसअघि बर्खायाममा बाढी आउँदा जोखिम मोलेर वारपार गर्नुपर्ने अवस्था थियो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।